गगन थापाको प्रश्न–संसद सभामुखले कि सरकारका मान्छेले चलाएका छन्?
काठमाडौं, असार २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसद सरकारको छायाँको रुपमा सीमिति हुँदै गएको आरोप लगाएका छन्।&nb....
काठमाडौं, असार २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसद सरकारको छायाँको रुपमा सीमिति हुँदै गएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद थापाले सरकारको छायाँको रुपमा सीमित भएको संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।
प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको थापाको टिप्पणी छ। उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।
‘सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन। संसदप्रति सांसदकै भरोसा टुट्छ भने आम नागरिकको भरोसा के रहन्छ? पेलेर जाने रबैया र नियत राख्नुभएको छ। यसले सभामुखले दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ,’ थापाले भने।
उनले सर्लाही घटनाका विषयमा छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने बताए। मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी उनले गरे।
‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसदहरुले हामी तयार छैनौ भन्नुभयो। कानूनमन्त्रीले तयार छैन भनेपछि उहाँहरुले जे कुरा भन्नुभो सभामुखले त्यही कुरा मान्नुभयो,’ थापाले भने,‘कम्तिमा हामी एक जना सांसदले कुरा राख्छौं भन्दा कुरा समेत पनि राख्न नदिने? आफै पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैले संसद चलाइरहेका छन्।’
उनले सर्लाहीका दुई फरक घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्ने भएकाले संसदीय छानविन समिति गठन गर्न माग गरेको बताए।






