मोटरसाइकल ठोक्किदा दुई युवकको मृत्यु, दुई घाइते
सप्तरी, साउन १९ : बसलाई ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुई युवकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत...
सप्तरी, साउन १९ : बसलाई ओभरटेक गर्ने क्रममा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुई युवकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमाहामा दुर्घटनामा भएको हो। दुर्घटनामा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशङ्कर यादव र सप्तरीको शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुधसागर चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कडरबोनाले जनाएको छ।
रामशंकरको प्रदेश नं २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल र बुधसागरको स ११ प ४०३८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। बसलाई ओभरटेक गर्ने क्रममा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ।
बुधसागरले चलाएको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र रामशंकरले चलाएको मोटरसाइकल पछाडि सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्। उनीहरूको उपचार लहानमा भइरहेको छ।











