सभामुखले संसदमा बोल्न समय नदिएपछि कांग्रेस र राजपाको नाराबाजी
काठमाडौं, असार २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरे....

काठमाडौं, असार २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै प्रतिपक्षी दल कांग्रेस र राजपा नेपालका सांसदहरुले उभिएर विरोध जनाएका थिए। दुबै दलका सांसहरुले उभिएर विरोध जनाइरहेका बेला सभामुखले बोल्नका लागि समय नदिएरै बैठकको कार्यसूची अगाडि बढाएका थिए।
अबरोधकै बीच सभामुख महराले कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गरेका थिए।
तर, नाराबाजीकै बीच सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान २३ औं विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए।
सचिव योगीले नाराबाजीकै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए। राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाइसकेपछि सभामुख महराले प्रतिनिधिसभाको बैठक असार ३० गते बस्ने गरी स्थगित गरेका थिए।
प्रतिपक्षी दल कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए।











