अब सांसदहरूको तलबभत्ता राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने
काठमाडौं, साउन १७ : सांसदहरूको तलबभत्ता अब पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने भएको छ। यसअघि उनीहरुको तलबभत्ता निजी बैंकमार्फत...
काठमाडौं, साउन १७ : सांसदहरूको तलबभत्ता अब पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने भएको छ। यसअघि उनीहरुको तलबभत्ता निजी बैंकमार्फत उपलब्ध गराइँदै आएको थियो।
लामो समयको प्रयत्नपछि संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको संसद सचिवालयले जनाएको छ।
संघीय संसद्को बैठकमा सांसदहरुले पटकपकट सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको विषय उठाउँदै आएको र अन्य सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा समेत यो विषय उठेको तर कार्य प्रगति हुन नसकिरहेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आज (आइतबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनबमोजिम संघीय संसद् सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको संसद् सचिवालयको भनाइ छ।
संसद् सचिवालयले खाता परिवर्तनका लागि ३१ असारमा अर्थ मन्त्रालयलाई पुनः ताकेता गरेपछि नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रण कार्यालयमार्फत सिंहदरबारस्थित सबै सरकारी कार्यालयका खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्न स्वीकृत दिएपछि सांसदको तलब भत्ता पनि वाणिज्य बैंकमै जाने भएको विज्ञप्तिमा उल्लेख छ।
यसअघि सरकारी खाता निजी स्वमित्वको एभरेस्ट बैंकमार्फत सञ्चालन गरिएको थियो।












