बालिकाको मृत्युपछि विराटनगरमा कर्फ्यू
विराटनगर, माघ १४ : टिपरको ठक्करले बालिकाको मृत्यु भएपछि विराटनगरमा तनाव उत्पन्न भएको छ । स्थानीय प्रशासनले विराटचौक क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।
विराटनगर, माघ १४ : टिपरको ठक्करले बालिकाको मृत्यु भएपछि विराटनगरमा तनाव उत्पन्न भएको छ । स्थानीय प्रशासनले विराटचौक क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।
आईतबार बिहान विराटचौकमा ना ३३ ख ३३५५ नम्बरको टिपरले ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो । टिपरको ठक्करले उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकाको मृत्युपछि विरोधमा उत्रिएका स्थानीय बासिन्दाले टिपर जलाएका छन् । उनीहरुले अन्य सात सवारी साधनमा आगो लगाएका छन् । स्थानीय बासिन्दाले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।
स्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाउनु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनका अनुसार, विराटनगरदेखि विराटनगर आउने बेलेपुरसम्मको साढे तीन किलोमिटर क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।
कर्फ्यूसँगै सो क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । स्थानीय बासिन्दाले पनि विरोध जारी राखेका छन् ।






