अमानवीय ज्यादती रोक्न भारतलाई वाइसिएलको आग्रह
काठमाडौं, साउन १६ : तुइन तर्दै गर्दा तार काटिदिएपछि एक नेपालीको मृत्यु भएको घटनालाई लिएर माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गम्भीर...
काठमाडौं, साउन १६ : तुइन तर्दै गर्दा तार काटिदिएपछि एक नेपालीको मृत्यु भएको घटनालाई लिएर माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुबोधराज शेर्पालीले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निन्दा र भर्त्सना गरेका छन्।
एसएसबीले तुइनको तार काट्दा दार्चुलाको व्यास गाउँपालिका-२ का ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको थियो।
‘२१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं आर्थिक-सामाजिक क्षेत्रमा बहुुआयामिक सम्बन्ध रहिआएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘छिमेकी मुलुकसँग समानता र स्वतन्त्रताका आधारमा भ्रातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ।’
नेपालको स्वधीनता, भौगोलिक अखण्डता र स्वाभिमान प्राणभन्दा प्यारो रहेको उल्लखे गर्दै भारतीय सुरुक्षा फैजले पटकपटक गर्दै आएको ज्यादतीका कारण छिमिकी मुलुकसँग भारतको सम्बन्ध खस्कँदै गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलुक एवम् नागरिकहरूप्रति समानतापूर्ण व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्बद्ध सबैसँग वाइसिएलले जोडदार माग गरेको छ।
उक्त ज्यादतीको यथार्थ छानबिन गरी कूटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतको व्यवस्था गर्न वाइसिएलले सरकारसँग माग गरेको छ। साथै भारतीय दूतावाससँग घटनाको स्पष्टीकरण लिनसमेत विज्ञप्तिमा माग गरिएको छ।
वाइसिएलले देशको स्वाधीनताको पक्षमा एकीकृत संघर्षका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक युवाहरूलाई आह्वान पनि गरेको छ।












