Kathmandu Press

एमाले फुटाउन अध्यादेश चाहिँदैन, ४० प्रतिशत पुग्छ : सांसद चौधरी

एमालेको माधवकुमार नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् । केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि जित्न नसकेर समाप्त हुने अवस्था आउने भएकाले आफूहरूले त्यो जोखिम मोल्न नचाहेको उनले बताए ।
एमाले फुटाउन अध्यादेश चाहिँदैन, ४० प्रतिशत पुग्छ : सांसद चौधरी

काठमाडौं, साउन १५ : एमालेको माधवकुमार नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् । केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि जित्न नसकेर समाप्त हुने अवस्था आउने भएकाले आफूहरूले त्यो जोखिम मोल्न नचाहेको उनले बताए ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौँ भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौँ ।’

नयाँ पार्टी गठन गरेर विचार मिल्ने सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याउनुपर्ने उनले बताए । ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे छिट्टै निर्णय हुने उनको दाबी थियो ।

पार्टीलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साइनो–सम्बन्ध राख्न नहुने उनले बताए । ‘संसदीय दलभित्र पनि केही दिनमै हामी त्यो खालको वातावरण बनाउनेछौँ । र, केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रोबीचमा निकै थोरै संख्या मात्रै तलमाथि हो,’ चौधरीले भने, ‘त्यो भित्र पनि एकखालको माहोल बन्दैछ। यदि त्यो पोजिसनमा हामी पुग्यौँ भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौँ भने एमालेलाई जोगाउन सक्दैनौँ । हामी त्यही प्रयास गरिरहेका छौँ ।’

पार्टी फुटाउन दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा आफूहरू नरहेको उनले बताए । ‘हिजो केपी ओलीले त्यो अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थियौँ । अहिले हामी आफैँले ल्याउँदा यसमा नैतिक प्रश्न हामीमाथि उठ्छ,’ उनले भने, ‘त्यसैले दल विभाजनको अध्यादेश हामीले ल्याउन मिल्दैन, ल्याउनु पनि हुँदैन । हामीलाई चाहिएको सांसद संख्या भनेको ४८ हो । ४० प्रतिशत संख्या हामी सजिलै पुर्याउँछौँ ।’
 

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्