Kathmandu Press

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, साउन १५ : ऊर्जामन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको हो।उनीहरुबीच आज (शुक्रबार) ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको...
ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, साउन १५ : ऊर्जामन्त्री पम्फा भुसाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

उनीहरुबीच आज (शुक्रबार) ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो। त्यसक्रममा दुई देशबीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको दुई देशबीचको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिएकाे सचिवालयकाे भनाइ छ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन्।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनुपरेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरिन्।

चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरिन्।

चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उहाँले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन्।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्