Kathmandu Press

नेविसंघले प्रधानमन्त्री ओलीलाई पठायो विशाक्त तरकारी र फलफूल उपहार

काठमाडौं, असार २४ : आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषा....

नेविसंघले प्रधानमन्त्री ओलीलाई पठायो विशाक्त तरकारी र फलफूल उपहार
रिवाज राई

काठमाडौं, असार २४ : आन्दोलनरत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने निर्णय तत्काल खारेज गर्न सरकारलाई दबाब दिएको छ। 

नेविसंघले मंगलबार काठमाडौंको प्रमुख जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सो निर्णय तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा सो निर्णय तत्काल खारेज नगरे सरकारलाई सडक आन्दोलनबाटै ढाल्ने चेतावनी पनि दिइएको छ। त्यस अवसरमा नेविसंघले सरकारले भारतको दबाबमा निर्णय लिएको दाबी गर्दै प्रधानमन्त्री ओलीलाई विशाक्त तरकारी र फलफूल पनि जिल्ला प्रशासन कार्यालयमार्फत उपहार पठाएको छ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले जनतालाई तरकारी र फलफूलसँगै विष सेवन गराएर मार्ने सो निर्णय तत्काल खारेज नभए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिए।

नेविसंघले भारतबाट आयात हुने तरकारी र फलफूलको विष परीक्षणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउँदै आएको छ। नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्यसका लागि बजेटको आवश्यक परे सरकारलाई देशभरबाट चन्दा संकलन गरी बुझाउने  बताए।

सरकारले जनशक्ति र प्रविधिको अभावमा तत्कालका लागि तरकारी र फलफूलको विषादी  परीक्षण गर्न नसक्ने निर्णय लिएकोमा काफ्लेले आपत्ति जनाए।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै नेविसंघले देशभर सडक आन्दोलनलाई निरन्तरता दिँदै नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।


 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असार २४, २०७६