लोकतन्त्रको रक्षा गर्ने क्रममा पाैडेलकाे मृत्यु : गृहमन्त्री बादल
काठमाडाैं, असार २४ : गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा विप्लव नेतृत्वको नेकपा माओवादीका ....
काठमाडाैं, असार २४ : गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका छन्।
गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको प्रतिवेदन बुझाएको जानकारी दिए। शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको दाबी गरे।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन्। र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन्।’
गृहमन्त्री बादलले भने, ‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ। देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ। जनताको जनादेश पनि त्यही छ। मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन्।’उनले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए। पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए।
काँग्रेस सांसदहरुले पौड्लको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे। जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन्।
गृहमन्त्रीले सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए। ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने।
कांग्रेसले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै सरकारको जवाफ मागेको थियो। त्यसलगत्तै गृहमन्त्री थापाले प्रतिनिधिसभामा जवाफ दिँदै उक्त कुरा बताएका थिए। त्यसप्रति आपत्ति जनाउँदै विपक्षी कांग्रेसले संसद् अवरुद्ध गरेको थियो।
असार ५ गते सर्लाहीको लालबन्दी जंगलमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो। गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाउँदै अस्ति र आजको बैठकमा पौडेल हत्याको विषयमा प्रश्न उठाएको थियो।






