Kathmandu Press

सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा हुँदैछः प्रधानमन्त्री देउवा

रुसको सेन्ट पिटर्सबर्गमा सन् २०१३ मा भएको विश्व बाघ सम्मेलनमा नेपालले आफ्नो भूमिमा बाघको संख्या एक सय २१ बाट सन् २०२२ सम्ममा दोब्बर बनाइने प्रतिबद्धता जनाएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा हुँदैछः प्रधानमन्त्री देउवा

काठमाडौं, साउन १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ, जंगल, मानव प्रजाति र प्रकृतिबीच अन्तरसम्बन्ध औँल्याएका छन् ।

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघका लागि जंगल आवश्यक भएको तथा जंगल मानव जाति र प्राकृतिक सन्तुलनका लागि अत्यावश्यक भएको बताए ।

‘प्राकृतिक प्रणाली र खाद्य चक्रका निम्ति सबैभन्दा माथिल्लो तहमा रहेको बाघ प्रजातिलाई सन्तुलन प्रणालीको सूचकको रूपमा पनि हेरिन्छ । यी कुनै पनि क्षेत्रमा स्वस्थ बाघ छ भने त्योअन्तर्गत रहेका पर्यावरणीय प्रणाली स्वस्थ र सन्तुलित रहन्छन् भन्ने सूचित गर्छ,’ प्रधानमन्त्रीले भने ।

सोही कारण बाघको वासस्थान सुरक्षित राख्न विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । संसारमा बाघ पाइने प्रमुख १३ मुलुकका मुख्य सहभागिता रुसको सेन्ट पिटर्सबर्गमा सन् २०१३ मा विश्व बाघ सम्मेलन भएको प्रधानमन्त्रीले स्मरण गरे । उक्त सम्मेलनमा नेपालले आफ्नो भूमिमा बाघको संख्या एक सय २१ बाट सन् २०२२ सम्ममा दोब्बर बनाइने प्रतिबद्धता व्यक्त गरेको उनले उल्लेख गरे ।

चोरी शिकारी तथा बाघ र उसका अंगहरूको अवैध ओसारपसार नियन्त्रण गर्न नेपालले दिगो कार्ययोजना तयार पारे कार्यान्वयनमा ल्याएको देउवाले बताए । हाल नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको र सन् २०२२ सम्ममा पिटर्सबर्ग सम्मेलनमा व्यक्त गरेको प्रतिबद्धता पूरा हुने उनले बताए ।

मानव–बाघ द्वन्द्व व्यवस्थापनका लागि दिगो कार्यक्रम ल्याउनु आवश्यक रहेको प्रधानमन्त्रीले औँल्याए । बाघको संख्या बढेसँगै बाघ हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल आउने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाको सम्बोधनको पूर्णपाठ

- आज २९ जुलाईका दिनलाई संसारभरि अन्तर्राष्ट्रिय बाघ दिवसको रूपमा हामी सबैले मनाइरहेका छौं। आजको दिन बाघलगायत लोपोन्मुख वन्यजन्तुको संरक्षणमा हामी सबैले प्रतिबद्धता गर्ने दिन पनि रहेको र यसबाट हामी सबैलाई बाघ संरक्षण गर्न समेत प्रेरणा मिल्ने विश्वास लिएको छु।
-  बाघ संसारका जम्मा १३ देशमा मात्र पाइन्छन् । आजका दिन बाघ पाइने मुलुकहरूले विश्व बाघ दिवस मनाइरहेका छन् । यस दिवसको लागि तय गरिएको ’बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल नाराका साथ नेपालले पनि विश्व बाघ दिवस समारोह २०२१ मनाइरहेको छ ।
- प्राकृतिक प्रणाली र खाद्य चक्रको सबैभन्दा माथिल्लो तहमा रहेको बाघ प्रजातिलाई सन्तुलित प्रणालीको सूचकका रूपमा पनि हेरिन्छ। यदि कुनै पनि वनजंगल क्षेत्रमा स्वस्थ बाघ छ भने त्यसअन्तर्गत रहेका सम्पूर्ण जीवित प्राणीलगायत पर्यावरणीय प्रणाली नै स्वस्थ र सन्तुलित छ भन्ने सूचित गर्छ । त्यसैले बाघको वासस्थान सुरक्षित राख्न हामी मानवले विशेष ध्यान दिन आवश्यक छ ।
- संसारका बाघ पाइने नेपाल सहित १३ वटा मुलुकका प्रमुखहरूको सहभागितामा रुसको सेन्ट पिटर्सबर्गमा सन् २०१० मा विश्व बाघ सम्मेलन भएको थियो ।
- सो सम्मेलनमा नेपालले पनि बाघको संख्या सन् २०२२ सम्म १२१ बाट दोब्बर बनाई २५० वटा पु¥याउने प्रतिबद्धता जनाएको थियो ।
- बाघको वासस्थानको सुरक्षा गर्न, चोरी शिकारी एवम् गैरकानूनी व्यापार नियन्त्रण गर्न ती मुलुकले बाघको दिगो संरक्षण योजना तर्जुमा गरी कार्यान्वयन गरेका थिए ।
- सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर भई लक्ष्य प्राप्तिमा हामी सफल हुने कुरामा म विश्वस्त छु ।
- बाघ संरक्षणका लागि नेपालले विभिन्न निकुञ्जहरू स्थापना गरी वासस्थान सुधारका कार्यक्रम निरन्तर गर्दै आएको, चोरी शिकार नियन्त्रणका लागि नेपाली सेनाबाट नियमित गस्ती सञ्चालन, वन्यजन्तुको गैरकानूनी व्यापार नियन्त्रणमा नेपाल प्रहरीको निगरानी, साझेदार संस्थाहरूको निरन्तर सहयोग, स्थानीय बासिन्दाको सहभागितामा कार्यक्रमहरू सञ्चालन गरेको हुनाले नेपालले विश्वसामु उल्लेखनीय नतिजा हासिल गर्न सफल भएको छ ।
- बाघ संरक्षणमा योगदान गर्ने सहयोगी संस्था एवम् निकायलाई धन्यवाद दिन चाहन्छु ।
- विकास पूर्वाधार निर्माणको कारण बाघलगायत वन्यजन्तुको स्वाभाविक विचरणमा अवरोध आइरहेको हामीले देखिरहेका छौं, यसको समाधानका लागि उपयुक्त उपायको खोजी गर्नुपर्ने आवश्यकता छ । र, वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न नेपालसरकार प्रतिबद्ध छ ।
- पर्यापर्यटनको विकास गरी स्थानीय जनताको लागि रोजगारीका अवसर वृद्धि गर्दै उनीहरूको आयस्तरमा सुधार गर्न सकिन्छ । 
- यसबाट वन्यजन्तु संरक्षणप्रति स्थानीय बासिन्दाको सकारात्मक भावना सृजना हुन पुग्छ । त्यसैले, बाघ संरक्षणबाट प्राप्त गर्न सकिने अवसरहरूको उजागर गर्दै यसको दिगो संरक्षणलाई सुनिश्चितता प्रदान गर्नु हाम्रो दायित्व हो ।
- अन्त्यमा, आजको विश्व बाघ दिवसले केन्द्रदेखि तल्लो तहसम्म बाघको महत्त्वबारे जानकारी गराउन सहयोग पुर्‍याउने, सबैमा सचेतना अभिवृद्धि गर्ने र समग्र वन्यजन्तुको संरक्षणमा सकारात्मक सन्देश दिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्