प्रतिपक्षीकाे अवरोधले रोकिएको संसद् बैठक सूचना टाँसेर स्थगित
काठमाडौं, असार २४ : प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पाैडेलको हत्याबारे संसदीय छानबिन समितिकाे माग गर्....
काठमाडौं, असार २४ : प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पाैडेलको हत्याबारे संसदीय छानबिन समितिकाे माग गर्दै प्रतिनिधिसभाकाे बैठक अवरुद्ध गरेपछि केही बेरका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।
सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार सभामुख महराको सहमतिको प्रयास आजका लागि असफल भएको छ। उनले भने, ‘प्रतिपक्षले अवरोध गरेपछि सभामुखको पहलमा सबै दलका प्रमुख सचेतक÷सचेतकहरूको छलफलबाट आज सहमति हुने संभावना टरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित गरियो।
कांग्रेस र राजपाले विप्लव समूहका जिल्ला इञ्चार्जको हत्याबारे गृहमन्त्री रामबहादुर थापाको जवाफप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध गरेको हो।
लोकतन्त्रको रक्षा गर्ने क्रममा पाैडेलकाे मृत्यु : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको स्पष्टीकरण दिएका छन् ।
गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको प्रतिवेदन बुझाएको जानकारी दिए । शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको दाबी गरे । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन् । र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन् ।’
गृहमन्त्री बादलले भने, ‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । जनताको जनादेश पनि त्यही छ । मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन् ।’
उनले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए । पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए ।
काँग्रेस सांसदहरुले पौड्लको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे । जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् ।
गृहमन्त्रीले सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए । ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने ।
कांग्रेसले पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै सरकारको जवाफ मागेको थियो । त्यसलगत्तै गृहमन्त्री थापाले प्रतिनिधिसभामा जवाफ दिँदै उक्त कुरा बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै विपक्षी कांग्रेसले संसद् अवरुद्ध गरेको थियो ।
असार ५ गते सर्लाहीको लालबन्दी जंगलमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो । गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाउँदै अस्ति र आजको बैठकमा पौडेल हत्याको विषयमा प्रश्न उठाएको थियो ।






