विज्ञापन बोर्डमा सीईओ राख्ने कानूनी व्यवस्था गर्न कांग्रेस सांसदको माग
काठमाडौं, असार २३ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानूनी व्यवस्....

काठमाडौं, असार २३ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले विज्ञापन बोर्ड गठन गर्दा प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
सांसद राजभण्डारीले विज्ञापन बोर्डमा राजनीतिक चलखेल हुन नदिन पनि त्यसमा प्रशासकीय प्रमुखको रुपमा प्रमुख कार्यकारी अधिकृत हुनैपर्ने तर्क पनि गरे।
बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालका सांसद एकवाल मियाँले ‘क्लिन फिड’ लागू गर्ने सो विधेयकमा राखिएको प्रावधानप्रति आपत्ति जनाए। उनले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव प्रदेश सरकारलाई कमजोर बनाउने गरी आएको र त्यो आफूहरुलाई मान्य नहुने बताए।
विधेयकमा विज्ञापन बोर्ड गठन गर्दा प्रदेश सरकारको प्रतिनिधिलाई समावेश गर्ने कुनै पनि प्रावधान नराखिएकोमा सांसद मियाँको असन्तुष्टि छ।











