‘संविधानमा लेखिएका अधिकार कार्यान्वयन गर्न पहलकदमी आवश्यक’
काठमाडौं, साउन १२ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयनका लागि पहलकदमी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।आज (मंगलबार) अन्तरपार्टी...
काठमाडौं, साउन १२ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख गरिएका अधिकार कार्यान्वयनका लागि पहलकदमी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
आज (मंगलबार) अन्तरपार्टी महिला सञ्जालका तर्फबाट ज्ञापनपत्र बुझ्ने क्रममा उनले आवश्यक परेको अवस्थामा अधिकार प्राप्तिका लागि सकारात्मक र रचनात्मक दबाब सिर्जना गर्नुपर्ने बताए।
उनले संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरु कायम गरिएको बताए। जसले गर्दा प्रतिनिधिसभामाथि दुईपटकसम्म हला हुँदा पनि बच्न सकेको भनाय उनको थियो।
सभामुख सापकोटाले संसदमा विधेयकहरुलाई अघि बढाउने सन्दर्भमा आफूले प्रधानमन्त्रीसँग र आवश्यक परे सर्वदलीय छलफल गर्ने बताए। उनले सञ्जालको गराएको ध्यानाकर्षणप्रति ऐक्यबद्धता पनि जनाए र सञ्जालले उठाएका विषयलाई निर्णायक ठाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
सञ्जालकी अध्यक्ष कल्याणी रिजालले सभामुख दह्रोसँग उभिएका कारण प्रतिनिधिसभा पुनर्स्थापना भएको बताइन्। उनले मन्त्रिपरिषद् विस्तार हुँदा संविधानले व्यवस्था गरेअनुसार महिला सहभागिताका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरिन्।
ज्ञापनपत्रमा संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने, सबै निकायमा महिलाहरुलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनेजस्ता अधिकारलाई इमानदारिपुर्वक कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।
त्यस्तै मन्त्रिपरिषद, संवैधानिक आयोग, कुटनितिक नियोग एवं राज्यका अन्य निकायहरुमा हुने राजनीतिक नियुक्तिहरुमा महिला प्रतिनिधित्व नघट्ने गरी सुनिश्चित गर्ननुर्पे पनि बताइएको छ।











