वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेका छन् : सांसद संग्रौला
काठमाडौं, साउन १२ : कांग्रेस सांसद डिला संग्रौलाले वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा गरेको बताएकी छन्।आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले १६५ सांसदले...
काठमाडौं, साउन १२ : कांग्रेस सांसद डिला संग्रौलाले वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा गरेको बताएकी छन्।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले १६५ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएको उल्लेख गर्दै उनले सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिइन्।
भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल एमाले (ओली निकट) ले अहिलेको सरकार जनताको जनादेशबाट नभई सर्वोच्चको परमादेशबाट भन्दै दिग्भ्रमित पारिरहेको उनको भनाइ थियो।
संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट भएकाले अहिलेको सरकार परमादेशबाट नभएर जनादेशबाटै बनेको जिकिर उनले गरिन्।
उनले वर्तमान सरकारलाई निम्नलिखित पाँचबुँदे सुझाव पनि दिएकी छन्ः
१. न्यूनतम साझा कार्यक्रमः वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर संविधानको कार्यान्वयन, आम नेपाली जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउनुपर्छ ।
२. संक्रमणको व्यवस्थापनः कोरोना संक्रमणको व्यवस्थापनका लागि सर्वप्रथम विशेषज्ञको संयन्त्रमार्फत चिकित्सकहरुलाई समावेश गरी परामर्श लिने र प्रत्येक नेपालीलाई कोरोनाविरुद्धको खोप पहिलो आवश्यकता हो त्यसको लागि कूूटनीतिक पहल गरिनुपर्दछ।
३. रोजगारीः लाखौं मानिसले रोजगारी गुमाएका छन्। उनीहरुका लागि तत्काल राहतको व्यवस्था एवं विदेशबाट आएका नेपालीहरुको पुनर्स्थापना, पुनर्मिलनका साथै रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्दछ।
४. दण्डहीनताको अन्त्यः विगतका शान्ति सुरक्षा अस्तव्यस्त रह्यो, दण्डहीनता बढेर गयो । बालबालिका एवं महिलाका अनेकौं घटना घटे । तीन वर्ष पुग्दा पनि निर्मलाले न्याय पाइनन्। यसको न्यायीक निरुपण हुनु जरुरी छ।
५. सुशासनः देशमा सुशासन र पारदर्शीताले माग सरकारको काम कारबाहीको मूल्यांकन गर्दछ। सुशासन हुँदा नै जनताका सेवा प्रवाह हुँदै जनता लाभान्वित बन्न पुग्दछन् र देश समृद्धितर्फ अग्रसर हुन्छ।











