Kathmandu Press

कांग्रेसका क्रियाशील सदस्य साढे आठ लाख

टुंगो लगाइएको क्रियाशील सदस्यमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष छन् भने महिलाको संख्या १ लाख ९९ हजार ९७ छ। अन्यतर्फ पनि १७६ जना छन्।
कांग्रेसका क्रियाशील सदस्य साढे आठ लाख

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य टुंगो लागेको छ।

तीमध्ये ४ लाख ९ हजार ३३ जना भने पुरानै सदस्यको नवीकरण गरिएको हो। ४ लाख ४३ हजार छ सय ७८ जना भने नयाँ क्रियाशील सदस्य थपिएका हुन्।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सभापति शेरबहादुर  देउवालाइ बुझाएको प्रतिवेदनमा टुंगो लगाइएको क्रियाशील सदस्यमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष छन् भने महिलाको संख्या १ लाख ९९ हजार ९७ छ। अन्यतर्फ पनि १७६ जना छन्।

उमेर समूहका आधारमा क्रियाशील सदस्य १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४ सय २७ जना छन्। २६ देखि ४० वर्षसम्मका २ लाख ४९ हजार ७ सय ७४ जना छन्।

त्यसैगरी ४१ देखि ६० वर्ष उमेर समूहका क्रियाशील सदस्य ३ लाख २८ हजार २ सय ३४ जना क्रियाशील छन्। ६१ देखि ७५ वर्षको उमेरसमूहबाट ८३ हजार १० जना छन्। ७५ वर्षभन्दा माथिका ११ हजार ७ सय ८२ जना छन्।

समावेशितातर्फ अल्पसंख्यकतर्फ ६ हजार ८ सय २९ जना क्रियाशील छन्। मधेसीतर्फ ९५ हजार १ सय ४१ छन्।

त्यसैगरी मुस्लिम १६ हजार ९ सय ७०, थारूतर्फ २७ हजार ६ सय १५, अपांगता भएकातर्फ २ सय १, पिछडिएको क्षेत्रबाट १४ हजार ९ सय १४ जना क्रियाशील सदस्य छन्।

आदिवासी जनजाति २ लाख ८ हजार १ सय ५९, खस-आर्य ३ लाख ६७ हजार ६ सय ११, दलित ४५ हजार ४ सय १७ जना छन्।

प्रदेशगत रुपमा हेर्दा बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। बागमतीमा १ लाख ८६ हजार १ सय ४३ जना सदस्य छन्।

त्यस्तै प्रदेश १ मा १ लाख ७४ हजार ७सय ८२, प्रदेश २ मा १ लाख १२ हजार ९ सय ४६,  गण्डकी प्रदेशमा १ लाख १८ हजार ६ सय ३३ जना क्रियाशील सदस्य छन्।

त्यसैगरी लुम्बिनीमा १ लाख ३० हजार ८ सय ८५, कर्णालीमा ५४ हजार ५ सय ६६ र सुदूूरपश्चिममा ७४ हजार ७ सय ५६ जना क्रियाशील छन्।

केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अझै टुंगो लाग्न बाँकी छ। त्यसको  टुंगो लाग्दा क्रियाशील सदस्यको अझै एक लाखजति थपिने बताइएको छ।

क्रियाशील सदस्यताबारे विवाद भएका धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशीलबारे छानबिन समिति निर्णयमा पुग्न नसकेकाले त्यसकाे जिम्मा शीर्ष नेताहरूलाई नै दिइएकाे बताइएकाे छ।

१५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी केही नाम समितिले नै टुंगो लगाएको बताइएकाे छ।

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्