Kathmandu Press

हरित अभियान प्रारम्भः तीनलाख बिरुवा रोपिँदै

हरित अभियान प्रारम्भः तीनलाख बिरुवा रोपिँदै

महोत्तरी, साउन १२ : साउने झरीबीच महोत्तरीका उत्तरवर्ती तीन स्थानीयतहमा हरित अभियान प्रारम्भ भएको छ। 

जिल्लाका गौशाला, भङ्गहा र बर्दिबास नगरपालिका क्षेत्रमा तीन महिनाभित्र तीन लाख बिरुवा रोपिने लक्ष्यसहित हरित अभियान थालिएको हो।

Hardik ivf

तीनवटै स्थानीय तहका नदीउकास, पर्ति र अन्य सार्वजनिक जग्गा छनौट गर्दै रोपणको काम थालिएको हो। पहिलोचरणमा एक हजार २०० बिघा यस्तो जग्गामा वृक्षरोपण कार्य सम्पन्न गरिने छ। अभियानमा स्थानीय तह, राजनीतिक दल, सामुदायिक संस्था र आम सर्वसाधारण सरिक छन्।  वन, वातावरण र चुरे संरक्षणका लागि ‘हरित अभियान’ सहयोगी हुने यी क्षेत्रमा कार्यरत सामाजिक संस्था साुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले बताए। 

पछिल्ला तीन दिनभित्र यो अभियानअन्तर्गत १० हजारभन्दा बढी बिरुवा रोपिएका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। ‘स्थानीय तहले संरक्षणको जिम्मेवारीसहित बिरुवा माग गरेपछि हामीले उपलव्ध गराउँदै आएका छौं,’ कार्यालय प्रमुख विनोदकुमार सिंहले भने, ‘जिल्लाका उत्तरवर्ती तीन स्थानीय तहमा अभियानबारे बढेको उत्साह प्रशंसनीय छ।’

हरित अभियान थालिनु अघि नै बर्दिबास नगरपालिकाले गत असार मसान्तभित्रै ३० हजार र साउन पहिलो सातामा पाँच हजार गरी ३५ हजार बिरुवा यसैपालि रोपी सकेको छ। ‘हामीले हेरालु प्रवन्धसहित रोपण अभियान थालेका हौं,’ नगरप्रमुख बिदुरकुमार कार्कीले भने, ’साउनभित्रै ५० हजारभन्दा बढी नयाँ बिरुवा बर्दिबास नगरक्षेत्रभित्र रोपिने छन्।’

पछिल्लो अभियानमा फलफूलका बिरुवा बाक्लै रोपिएका छन् । आँप, लिच्ची, कटहर, अम्बा र मेवासहितका फलका बिरुवा संरक्षणमा बगर बगैंचाका किसानले जिम्मेवारी लिएका छन्। यसबाहेक तटवन्धको कान्ला, बगर र खोल्सीहरुमा माटो समात्ने प्रजातिका बाँस बाक्लै लगाइएको गौशालाका उपप्रमुख आशा लामाले बताइन्। 

पछिल्लो पटक थालिएको हरित अभियानअन्तर्गत भङ्गहा–५ स्थित बडहरी नदी उकासक्षेत्र, बर्दिबास–६ र ७ स्थित रातु खोला किनार र गौशाला–१० स्थित मराहा खोला किनारमा अहिले वृक्षरोपण भइरहेको छ। डिभिजन वन कार्यालय महोत्तरी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र अन्य सङ्घसंस्था पनि यो अभियानमा जोडिएका छन्। तीनवटा पालिकामा छुट्टाछुट्टै नगर स्तरीय हरित अभियान परिचालन समिति गठन गरिएको छ। अब रोपिएका बिरुवाको संरक्षणका लागि आम चासो बढाउन तीनवटै नगरपालिकामा गठित समितिबीच संयुक्त संयन्त्र बनाएर अनुगमन बढाइने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ।

जिल्लाको सुदूर उत्तरका तीन स्थानीय तहले बढाएका पहलकदमीलाई जिल्लाव्यापी बनाउन आवश्यक रहेको वातावरणविद्हरुको भनाइ छ। ‘सबै ठाउँमा सकारात्मक पहलकदमी बढाउन आवश्यक छ” वातावरण र चुरे विषयका ज्ञाता जिल्लाकै भङ्गहा–७ का बासिन्दा डा. विजयकुमार सिंहले भने, ‘जिल्लाका मध्य र दक्षिणी भेगमा अभियान बढाउन स्थानीय तहले पहलकदमी लिउन्।’ 
 

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्