महन्थ पक्षलाई अलग्गै राजनीतिक दल गठन गर्ने अवसर, तर जसपा सांसद नयाँ पार्टीमा जाँदा रहने छैन पद
निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई अलग्गै दल गठन गर्न सक्ने अवसर दिएको छ । तर, नयाँ दलमा आबद्ध भएमा उनी पक्षका सांसदको पद स्वतः रिक्त हुने जानकारले बताएका छन्।
काठमाडौं, साउन ११ : निर्वाचन आयोगले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षलाई अलग्गै दल गठन गर्न सक्ने अवसर दिएको छ । तर, नयाँ दलमा आबद्ध भएमा उनी पक्षका सांसदको पद स्वतः रिक्त हुने जानकारले बताएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत नपुगेका कारण महन्थ पक्षसामु अलग्गै राजनीतिक दल गठन गर्ने अवसर मात्र बाँकी छ ।
‘छुट्टै राजनीतिक दलको रूपमा दर्ता गर्न चाहेमा दर्ता गर्न सकिने निर्णय छ,’ श्रेष्ठले काठमाडौं प्रेससँग भने, ‘महन्थ ठाकुरको पक्षमा रहेका सांसदको हकमा संघीय संसद सचिवालयबाट निर्णय हुने हो ।’
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार जसपाका सांसदहरू आधिकारिकता पाएको पक्षमा नबसेमा पद रिक्त हुनेछ । ‘केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत नपुग्दा र अलग्गै राजनीतिक दल दर्ता गर्दा सोही दलमा हालका सांसदहरू आबद्ध भएमा सांसद पद रहँदैन,’ पाण्डेले भने, ‘दल त्याग्नुभएन, जसपामै बसिरहनुपर्यो अनि मात्र पद रहन्छ । दल त्यागेर अर्को दलमा जाँदाबित्तिकै पुरानो दलको हैसियत समाप्त हुन्छ ।’
संघीय संसद मात्र होइन, जसपाबाट विजयी भएका प्रदेशसभा र स्थानीय तहसम्मका जनप्रतिनिधिसम्मको हकमा त्यही प्रावधान लागू हुनेछ । अध्यक्ष यादवले आत्मालोचना गरेर आएमा पार्टीमा ठाउँ दिन सकिने सोमबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताएका थिए । तर, त्यसरी आत्मालोचना गरेर महन्थ पक्ष पार्टीमा फर्किने सम्भावना कम रहेको जसपाका एक केन्द्रीय कार्यकारिणी समिति सदस्य बताउँछन् ।
हाल प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका एक सांसद महन्थका पक्षमा देखिँदै आएका छन् ।











