फुटबल प्रशिक्षक अल्मुताइरीकाे राजीनामा फिर्ता माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा, साउन ११ : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने माग राख्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ।
अल्मुताइरीलाई मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै मकवानपुरका फुटबल क्लबहरूले संयुक्त रुपमा राजीनामा फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन्।
उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले राजीनामा दिनुपर्ने भन्दै चर्को नाराबाजी गरेका थिए। सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा राजनीति रोक्नुपर्ने माग उनीहरुले राखेका छन्।
अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण राजीनामा दिन लागेको जनाएका थिए। यद्यपि अल्मुताइरीको औपचारिक राजीनामा एन्फामा पुगिनसकेको बताइएको छ।











