Kathmandu Press

विषादी परीक्षणबारे माफी माग्दै मन्त्री यादवले भने–मलाई सचिवहरुले डुबाए

काठमाडौं, असार २३ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर....

विषादी परीक्षणबारे माफी माग्दै मन्त्री यादवले भने–मलाई सचिवहरुले डुबाए

काठमाडौं, असार २३ :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले आफूलाई सचिवहरुले डुबाएको पनि बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका चार जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दाबी छ।

मन्त्री यादवले निर्णयको जिम्मेवारी भने आफूले लिने बताए। आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठीक ठाउँमा बस्न पनि मन्त्री यादवले सचेत गराए। मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए।  आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्वीकार गरे। 

उनले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्न आफूलाई प्रधामन्त्री वा कसैको दबाब नआएको पनि स्पष्ट पारे। ‘मैले पछि मात्रै पूर्वाधारको विषयमा जानकारी पाए। त्यसपछि त्यो निर्णय आफैले फिर्ता लिएको हुँ,’ मन्त्री यादवले भने,‘कसैको दबाबमा निर्णय फिर्ता लिएको होइन।’

पत्रकार सम्मेलनमा उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण निर्णयमा गल्ती हुन पुगेको बताइन्।

सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ।


 

प्रकाशित मिति: १५:४७ बजे, सोमबार, असार २३, २०७६