Kathmandu Press

चैतसम्म साढे २ करोड बढीलाई खाेप दिइने, सवा ४ करोड डोज खाेप आउने

काठमाडौं, साउन ११ : सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबैलाई पुग्नेगरी खोप आउने बताएको छ।आज (सोमबार) प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा...
चैतसम्म साढे २ करोड बढीलाई खाेप दिइने, सवा ४ करोड डोज खाेप आउने


काठमाडौं, साउन ११ : सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबैलाई पुग्नेगरी खोप आउने बताएको छ।

आज (सोमबार) प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने प्रक्षेपण गर्दै चैतसम्ममा लक्षित कोही पनि कोरोना खोपबाट वञ्चित नहुने बताएको हो।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट समेत गरी १ करोड ५ लाख ४८ हजार डोज खोप असोजभित्रै प्राप्त भइसक्ने दाबी गरे। 

उनले सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्यालाई खोप लाउने लक्ष्य लिएको पनि जानकारी दिए।

डा. लोहनीले कोभ्याक्स सुविधाअन्तर्गत भदो पहिलो साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप प्राप्त हुने बताए। उनका अनुसार कोभ्यास सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुनेछ। 

साउन अन्तिम साताभित्र वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उनले जानकारी दिए। उनका अनुसार खरिदबाट ७० लाख डोज खोप प्राप्त हुनेछ।

नेपालले रकम भुक्तानी गरिसकेर पनि प्राप्त हुन नसकेको १० लाख डोज कोभिसिल्ड खोप भारतबाट भदौको दोस्रो साता प्राप्त हुने लोहनीको भनाइ छ। चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोप भदौ मसान्तसम्म प्राप्त भइसक्ने डा. लोहनीले बताए। 

उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिए। कोभ्याक्स सुविधाबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने र त्यसेबाट लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने उनको भनाइ छ। 

असोजदेखि चैतसम्ममा बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप पनि उपलब्ध हुने बताइएको छ।  

हालसम्म कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार कोभिसिल्ड र १५ लाख ३४ हजार ८५० जनसन गरी १८ लाख ८२ हजार डोज खोप प्राप्त भएको लोहनीले जानकारी दिए। त्यसैगरी हालसम्म वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १८ लाख डोज र भारत सरकारबाट ११ लाख डोज खोप प्राप्त भएको छ। 

हालसम्म १० लाख डोज खोप भारतबाट कोभिसिल्ड र ३२ लाख डोज चीनबाट भेरोसेल खोप खरिदबापत प्राप्त भइसकेको उनले जानकारी दिए। खरिद बापत चीनबाट प्राप्तमध्ये ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने उन डा. लोहनीले बताए। 
 

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्