Kathmandu Press

नेपाललाई ओलीसरह जिम्मेवारी सम्भव छैन : महासेठ 

नेपाललाई ओलीसरह जिम्मेवारी सम्भव छैन : महासेठ 

काठमाडौं, साउन ११ : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी ओलीसरहको जिम्मेवारी दिने सम्भावना शून्य रहेको दाबी गरेका छन्।

उनले भने, ‘कुनैपनि हालतमा माधव कमरेडलाई इक्वेल अध्यक्ष दिइँदैन । यो सम्भावना शून्य छ। बरु आकाश खस्ला तर पार्टीमा बराबरको दुई अध्यक्ष हुन सक्दैन । हाम्रो पार्टीको विधानले पनि त्यो मिल्दैन ।’  

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले नेपाललाई अध्यक्ष दिनेगरी पावर सेयरिङमा छलफल भइरहेको भनेर बाहिर चर्चा भए पनि त्यस्तो कुनै सम्भावना नभएको जिकिर गरेका हुन् ।
उनले भने,‘अर्को अध्यक्ष वा सहअध्यक्ष दिन हाम्रो पार्टीको विधान अधिवेशन हुनुपर्छ । माधव नेपाललाई केपी ओलीसरहको अध्यक्ष दिन सकिँदैन । यो असम्भव कुरा हो ।’

उनले माधव नेपाललाई आम कार्यकर्तालेजस्तो मिडिया फेस गर्नुभन्दा पनि लो–प्रोफाइलमा बस्न सुझाव दिए । उनले भने, ‘एमालेमा मैले सबैभन्दा बढी सम्मान र माया गर्ने नेतामा माधव कमरेड नै हो । अहिले पनि गर्छु । एकताका लागि गम्भीर बन्नुहोस् । एकताको विकल्प छैन् ।’  

नेता महासेठले एमालेको एकताको विकल्प नभएको भन्दै ढिलो÷चाँडो एकता भइछाड्ने पनि दाबी गरे । उनले नेकपा (एमाले) बनाउनको लागि माधव नेपालको ठूलो भूमिका रहेको भन्दै आफ्नो पार्टीलाई कमजोर बनाउने गतिविधिमा नलाग्न आग्रह गरे । उनले एमालेमा फर्किँदा कतै नेता तथा कार्यकर्ताले अपमान गर्छन् कि भन्ने चिन्ता नलिन पनि आग्रह गरे । 

अहिले एमालेको तल्ला तहदेखि माथिल्लो तहसम्मले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताको लागि दबाब दिएको पनि स्मरण गराए । नेता महासेठले अहिले पार्टी एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैजना आन्तरिक छलफलमा रहेको पनि सुनाए । 
 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्