नेपाल समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं, साउन ११ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरमा जारी छ।सरकारमा सहभागी हुने कि पार्टी एकता प्रक्रियालाई अघि...
काठमाडौं, साउन ११ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बानेश्वरमा जारी छ।
सरकारमा सहभागी हुने कि पार्टी एकता प्रक्रियालाई अघि बढाउने भनेर नेपाल समूह अनिर्णयको बन्दी बनेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै विगतमा विपक्षी गठबन्धनमा रहेर नेपाल समूहलाई साथ दिँदै आएको थियो। त्यसकारण सत्तारुढ गठबन्धनले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन अनुरोध छ। तर एमालेमा एकता प्रयास भइरहेकाले सरकारमा सहभागी भइहाल्न यो समूहलाई अप्ठेरो छ।
नेपाल समूहको बैठक आइतबार पनि बसेको थियो । सो बैठकमा बोलने अधिकांश नेताले पार्टी एकतामा जोड दिनुपर्ने धारणा राखेका थिए। हिजोको बैठकमा बोल्न बाँकी नेताले आज आफ्ना धारणा राखिरहेका छन्।
एमालेको आन्तरिक विवाद हल गरी एकता प्रक्रियालाई सार्थकता दिन गठित कार्यदलले १० बुँदे सहमति नजुटाएको पनि होइन तर एमाले अध्यक्ष केपी ओलीसँगको टसलले नेपालले उक्त सम्झौतालाइृ स्वीकार्न सकेनन्। जबकि एमाले केन्द्रीय समितिमा उक्त सम्झौता अनुमोदन भएर कार्यान्वयन गर्ने भनिएको छ।
ओली–नेपालका आआफ्नै अडान कायम छ। एउटा नरम हुँदा अर्को कडा रुपमा प्रस्तुत हुने स्थितिले एमालेमा एकता माछो माछो भ्यागुतोको स्थितिमा छ।
अध्यक्ष र वरिष्ठ नेता एकले अर्कालाई स्विकार्न नसक्दा सिंगो एमालेको बैठक केपी ओली समूहको जस्तो मात्र देखिएको छ भने नेपाल समूहले पनि छुट्टै बैठक गर्दै आएको छ।
ओलीले ‘युथ फोर्स’ ब्युँताउँदा नेपाल समूहले ‘पिपुल्स भोलिन्टियर्स’ मात्र नभएर ‘अखिल फोर्स’ पनि बनाइसकेको अवस्था छ।
समानान्तर गतिविधि गर्दै आउँदा पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्मका समिति र नेता कायृकर्तामा दरारको अवस्था एमालेमा सिर्जना भएको छ।











