जसपालाई निर्वाचन आयोगले एकीकृत गरिदिएको छः राजकिशोर यादव
जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले आफ्नो पार्टी सकेसम्म विभाजित नहोस् भन्ने उद्देश्य रहेको बताएका छन्।
काठमाडौं, साउन ११ : जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले आफ्नो पार्टी सकेसम्म विभाजित नहोस् भन्ने उद्देश्य रहेको बताएका छन् ।
निर्वाचनमा आयोगमा केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको सनाखतका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले पार्टीभित्रको विवाद राजनीतिक ढंगबाटै समाधानको पहल हुन सकेको भए आयोगमा आउनुपर्ने अवस्था नै नआउने उल्लेख गरे । ‘यो दुःखद् विषय हो, तथापि निर्वाचन आयोगले जसपालाई एकीकृत गरिदिएको छ । त्यो काम हामी आफैँले गर्नुपथ्र्यो ।’
आफू पार्टीको सिपाहीको रूपमा जसपा बचाउन अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएको उनले बताए । आफू पार्टी एकताको पक्षमा सधैँ उभिएको बताउँदै आएको उनले उल्लेख गरे । बालकुमारी र बबरमहलमा रहेका दुवै पार्टी कार्यालयमा पुगेर आफूले एकतामा जोड दिएको उनले बताए ।
होटेलमा बसेर संसदीय दलको नेता चयन गर्ने कुराको आफूले विरोध गरेको र त्यसयता दुवै पक्षका बैठकहरूमा सहभागी नभएको उनले प्रष्ट्याए । ‘मैले आफ्नो विमति राख्दै गएँ, पार्टी विभाजन हुनु हुँदैन, एक बनाएर जानुपर्छ भनिरहेँ । अहिले पनि हामी एकै छौँ । इगो र मनको मैला त्यागेर एक हुन म आदरणीय नेताहरूसँग आग्रह गर्छु,’ उनले भने ।











