वर्षातका कारण नारायणगढ–बुटवल सडक विस्तार सुस्त
नवलपुर, साउन ११ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन। कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको...
नवलपुर, साउन ११ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको कामले तीव्रता पाउन सकेको छैन।
कोभिड–१९ का कारण सडक विस्तारमा ढिलाइ भइरहेको अवस्थामा मनसुन शुरु भएसँगै सडक विस्तारमा थप जटिलता आएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ। नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले बर्सातको समयमा पुल निर्माणको काम मात्रै भइरहेको जानकारी दिए।
नारायणगढबाट पाँच किलोमिटरदेखि १२ किलोमिटरसम्ममा माइनर ब्रिज निर्माणको काम भइरहेको उनले बताए। उनका अनुसार, यहाँ सात वटा माइनर ब्रिज निर्माणका क्रममा रहेकाले राजमार्गमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन भइरहेको छ। सात वटा साना पक्की पुलमध्ये तीन स्थानको पुलको ढलान सकिएको आचार्यले जानकारी दिए।
ढलान सकिएका पुलको साइडको वाल र रेलिङ बनाउने काम बाँकी रहेको र त्यो निर्माण भएपछि पुलबाटै सवारी साधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ। त्यस्तै दुई वटा पुलको सुपर स्ट्रक्चर (ढलान गर्नुपूर्व) को काम भइरहेको छ भने अन्य दुई वटामा पनि भइरहेको जनाइएको छ।
अहिले बर्खाको समय भएकाले कामदार थपेर कामको गति बढाउन सक्ने अवस्था नरहेको उनले बताए। बर्खामा पुलको कामबाहेक अन्य ठाउँको काम गर्न सम्भव नहुने र अन्य काम गर्नै नमिल्ने भएपछि मजदुर बढाएर मात्रै काम चाँडो नहुने उनको भनाइ छ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ प्रमुख रमेशकुमार दिष्टीले दिनहुँजस्तो पानी परिरहेकाले पुल निर्माणबाहेक अन्य काम गर्न नसकिएको बताए। मनसुनका कारण आवश्यकतानुसार सडक विस्तारमा मजदुर परिचालन गर्न नसकिएको बताउदै दैनिकजसो पानी परिरहेको कारण मजदुरले पनि काम गर्न नपाउने र ठेकेदारले पनि काम दिन नसक्ने अवस्था रहेको उनले बताए।
आयोजना विस्तारका लागि कटान हुनुपर्नेमध्ये ९० प्रतिशत रुख काटेर सकिएको छ। दाउन्ने क्षेत्र र दुम्किबास क्षेत्रमा केही रुख काट्न बाँकी रहेको उनले जानकारी दिए।
आयोजनाअन्तर्गत झण्डै ११ हजार रुख काटिने भन्दै दिष्टीले रुख काटेर सकिएलगत्तै विद्युत्को पोल सार्ने काम पनि शुरु गरिने बताए।
सडक विस्तारको कामको प्रगति आठ प्रतिशत भएको भन्दै दिष्टीले बर्खापछि कामले तीव्रता पाउने बताए। पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामलाई गैँडाकोट दाउन्ने (६५ किमी) सडकलाई ‘खण्ड १’ तथा दाउन्ने बुटवल (४९ किमी) सडकलाई ‘खण्ड २’ मा विभाजन गरेर निर्माणको काम भइरहेको छ। ग्लोबल टेन्डरमार्फत रु १६ अर्ब ९९ करोड ५२ लाखमा दुवै खण्डको निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले पाएर निर्माणको काम अगाडि बढाएको हो।
चार लेनमा विस्तार हुने सो सडकको शहरी क्षेत्रमा छ÷छ मिटरका अतिरिक्त सर्भिस लेन हुनेछ भने बीचमा हरियालीसहितको डिभाइडर रहने जनाइएको छ। नवलपरासी पूर्व र पश्चिम तथा रुपन्देही गरी तीन जिल्ला छुने यस सडकमा साना ठूला गरी २१ वटा पक्की पुल निर्माण हुनेछन् भने जङ्गलमा चार वटा वन्यजन्तुमैत्री पुल निर्माण गरिनेछ। (रासस)



