डीआईजी हैन, एआईजीलाई प्रदेश प्रहरीको प्रमुख बनाऊँ : जनार्दन शर्मा
काठमाडौं, असार २३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रदेश प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई....
काठमाडौं, असार २३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रदेश प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको आजको बैठकमा नेकपा स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले विधेयकमा प्रस्तुत गरेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) को साटो एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका हुन्।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि धारणा राख्दै शर्माले भने, ‘प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि प्रदेश प्रहरी प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुन्छ । प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्छ।’
शर्माले संघीयतामा मुलुक गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने धारणा राखे।
प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाए।
उनले भने, ‘प्रदेश प्रमुखबाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।’ सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ।






