एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङको प्रतिक्रिया : अल्मुताइरीलाई बाधा पुग्ने काम गरेको छैन
काठमाडौं, साउन १० : अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा...
काठमाडौं, साउन १० : अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा राजीनामा दिने कुरा गर्दा आफ्नो नाम पनि मुछेकोप्रति आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।
उनले मुख्य प्रशिक्षक अलमुताइरीसँग म्यासेन्जरबाट कहिलेकाहीँ कुरा गरेको भए पनि अहिलेसम्म प्रत्यक्ष रूपमा भेट नभएको स्पष्ट पारे।
सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले अलमुताइरीलाई काममा बाधा उत्पन्न हुने खालको कुनै किसिमको कामकुरा आफूबाट नभएको दाबी पनि गरे। ‘मेरै कारण उनले राजीनामा दिएको सुन्दा आश्चर्य लागेको छ,’ उनले भने।
प्रशिक्षक राजीनामाको बारेमा एन्फाले समिति बनाएर छानबिन गर्नुपर्नेमा उनले जोड दिए। उनले आफू दोषी देखिए एन्फाबाट बाट राजीनामा दिन तयार भएको बताए।
एन्फाले मुख्य प्रशिक्षक अलमताइरीले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि औपचारिक रूपमा भने आइनसकेको बताएकाे छ। सो विषयबारे छलफल हुने एन्फाको भनाइ छ।











