Kathmandu Press

बालबालिकाका लागि नयाँ शिक्षा स्टेम के हो? 

अमेरिकी बालबालिकाका लागि स्टेम शिक्षा नयाँ हो । ‘साइन्स’, ‘टेक्नोलोजी’, ‘इन्जिनियरिङ’ र ‘म्याथम्याटिक्स’लाई छोटकरीमा &l....

बालबालिकाका लागि नयाँ शिक्षा स्टेम के हो? 

अमेरिकी बालबालिकाका लागि स्टेम शिक्षा नयाँ हो । ‘साइन्स’, ‘टेक्नोलोजी’, ‘इन्जिनियरिङ’ र ‘म्याथम्याटिक्स’लाई छोटकरीमा ‘एस.टि.इ.एम’ वा स्टेम भनिन्छ ।

अहिले स्टेम कार्यक्रम, स्टेम समर क्याम्प र स्टेम खेलौना पनि उपलब्ध छन् । यसको बजार पनि उत्तिकै विस्तार भइरहेको छ । सबैको एउटै उद्देश्य छ : शैक्षिक सफलताका लागि आवश्यक सीप प्रवद्र्धन गर्ने र त्यसपछि राम्रो आयआर्जन हुने रोजगारमा पहुँच बढाउने।

बालबालिकाको आर्थिक भविष्यबारे चिन्तित आमाबाबुले यो लक्ष्यलाई असल माने पनि, दुर्भाग्यवश स्टेम खेलौना प्रभावकारी हुने कुनै वास्तविक प्रमाण छैन । अर्काेतिर स्टेमलाई प्रभावकारी मान्ने तथ्याङ्कको आधार पनि छैन।

Hardik ivf

स्टेम खेलौना महँगा हुन्छन् । आमाबाबु यसता खेलौनाको भर परे बालविकासका लागि गुणकारी मानिने खेल छायाँमा पर्नसक्छ । ती खेल जुन प्राकृतिक वातावरणमा खुला, कल्पनाशील र सहकार्यात्मक तरिकाले खेलिन्छन्।

अर्काे शब्दमा भन्दा, भविष्यका डाक्टर, इन्जिनियर र आर्किटेक्टलाई घरबाहिर निस्केर गरिने बालसुलभ गतिविधि मात्रै आवश्यक हुनसक्छ।
 
टोय एसोसिएसनले मे महिनामा जारी गरेको रिपोर्टमा स्टेम क्षेत्र र स्टेम खेलौनाबारे दुई हजार आमाबाबु सहभागी सर्वेक्षणको नतिजा पनि समावेश थियो । औसत आमाबाबुलाई पाँच वर्ष पुगेपछि बालबालिका क्यारियरको बाटोमा लाग्नुपर्छ भन्ने लागेको थियो । त्यसबाहेक ७५ प्रतिशत बालबालिकाले स्टेम सम्बन्धी क्यारियर छनोट गरून् भन्ने चाहन्थे । त्यस्तै ८५ प्रतिशत आमाबाबु छोराछोरीले ‘कोड’ सिकुन् भन्ने चाहन्थे।

यो सूचनालाई शैक्षिक वा खेलकुदको सन्दर्भभन्दा आर्थिक पाटोबाट विश्लेषण गर्दा एउटा अँध्यारो पक्ष भेटिन्छ । सन् १९७० को दशकदेखि अमेरिकामा आर्थिक असमानता बढेको छ । मध्यम वर्गलाई आकर्षित गर्ने उत्पादनमूलक क्षेत्रको रोजगार हराएको छ । बहुसंख्यक अमेरिकीका लागि आर्थिक स्थायित्वको महत्वपूर्ण बाटो बन्द भएको छ । सफलताको बाटो अब उच्च शिक्षाको प्रतिस्पर्धी संसारबाट मात्रै अगाडि बढ्छ । स्टेम खेलौनाले बालबालिकालाई विद्यालयमा राम्रो प्रदर्शन गर्न सहयोग गर्ने वाचा गरेको छ । ‘व्हाइट–कलर क्यारियर’ मा पहुँच पु¥याउने र उनीहरूलाई त्यसै अनुरूप तयार गर्ने वाचा गरेको छ।

यो ठूलो आश्वासन हो । धेरै मानिसले पत्याएका पनि छन् । भर्खर पाइला बढाउन थालेका बालबालिकाका लागि धेरैले जटिल स्टेम खेलौना किन्छन् । ती खेलौना आफैंमा हानिकारक नभए पनि ग्राहकका लागि तिनको लोकप्रियताभित्र लुकेको कार्यकारण प्रश्नलायक छ।

‘बालबालिकालाई भावी रोजगारका लागि तयार गर्न खेलौनाको आवश्यकता छैन,’ युनिभर्सिटी अफ बक्र्ली किड ल्याबका बालविकास अनुसन्धाता डा. सेलेस्टी किड भन्छिन्,‘वयस्क भएपछि काम पाउन बालबालिकालाई तयार गर्ने खेलौना बनाउनुपर्ने आवश्यकता र सम्भावना छैन।’

जीवनमा कुनै विशेषज्ञता हासिल गर्नेबारे सोच्नु अघि बालबालिकाका लागि आधारभूत र अवधारणागत ‘बिल्डिङ ब्लक’ धेरै उपलब्ध भएको उनी बताउँछिन् । पाँच वर्षमै बालबालिकालाई क्यारियरको बाटोमा उन्मुख गराउनु मूर्खता भएको उनको ठहर छ ।

त्यसैले स्टेमको नाममा बजारमा आउने महँगा खेलौना बालबालिकाभन्दा धेरै आमाबाबु केन्द्रित छन् । खेलौनालाई स्टेम भन्ने ‘लेबल’ लगाउँदा ५५ प्रतिशत आमाबाबु आकर्षित हुने गरेको टोय एसोसिएसनको सर्वेक्षणले देखाएको छ । फेरि पनि, ती खेलौनाले बढी उत्पादक र सस्तो खेलबाट ध्यान नमोडेको भए त्यस्तो समस्या हुने थिएन।

अमेरिकन एसोसिएन अफ पेडियाट्रिक्सको पछिल्लो रिपोर्ट अनुसार शारीरिक गतिविधि, अभिनय र ‘ब्लक एन्ड शेप सर्टर्स’जस्ता परम्परागत खेलौनासँग खेलले बालबालिकाको सीप अभिवृद्धि हुने देखिएको छ । विशेष गरी न्युन–आय भएका ‘प्रि–स्कूल’ बालबालिकालाई वयस्कको न्युनतम सुपरीवेक्षणमा त्यस्ता ‘ब्लक’सँग खेल्न दिए भाषिक ज्ञान बढेको ६ महिनाको परीक्षणले देखाएको छ।

बालरोग विशेषज्ञ उनीहरूको सुझावमा अडिग छन् । बालबालिकाको खेल सक्रिय, खुला, कल्पनाशील र सहकार्यात्मक हुनुपर्छ । यस्तो गुण प्रवद्र्धन गर्ने खेलौना प्रायः साधारण र विद्युतीय हुँदैनन् । यस्ता खेलौना खुला र वास्तविक संसार सान्दर्भिक हुनुपर्छ । ‘ट्रायल एन्ड एरर’को अवसर दिने, व्यावहारिक, सिर्जनशीलता प्रोत्साहन गर्ने, आत्मविश्वास बढाउने र सामाजिक र भावनात्मक सीप प्रवद्र्धन गर्ने हुनुपर्छ।

यी विशेषतालाई नजिकबाट नियाल्दा सबैभन्दा राम्रो स्टेम खेलौना साथीलाई ‘ट्याग’ गर्ने वा जंगलमा ‘किल्ला’ बनाउने वा ‘ब्लक’ खेल्ने होला । वास्तवमा बजेट अनुसार गतिविधिको सूचित नै होला । यसता गतिविधिका लागि विद्युत, एप्स वा डेबिट कार्ड चाहिंदैन।

‘एक तरिकाले सबै खेलौना स्टेम खेलौना हुन्,’ किड भन्छिन्,‘विज्ञान जहाँ पनि छ । स्टेम खेलौनालाई कुनै विशेष तरिकाले तयार गर्नुपर्दैन भनेर आमाबाबु सचेत हुनुपर्दछ । स्टेम खेलौना हुनलाई कुनै प्रमाणीकरण प्रक्रिया हुनुपर्दछ भन्ने धारणा फेर्नुपर्छ ।’

‘रेड रोभर’ वा ‘मदर मे’जस्ता साधारण खेलले बालबालिकालाई थाहै नदिई ‘कोडिङ’को आधारभूत ज्ञान दिनसक्छ । ‘कोडिङका केही अवधारणा सिकाउन रेड रोभर उपयोगी हुनसक्छ । यसले आकस्मिकता सिकाउँछ,’ उनी भन्छिन्,‘मद मेले परिस्थिती अनुसार सोंचेर व्यवहार गर्न सिकाउँछ।’
 
अन्त्यमा स्टेम खेलौनाको लेबल वास्तविक परिणामभन्दा ‘मार्केटिङ’ बढी हो । आमाबाबुको चिन्ता र ग्लानीले महँगा ‘कोडिङ किट’, ‘साइन्स सब्सक्रिप्सन बक्स’ र एपबाट चल्ने खेलौना किन्न उक्साउँछ।

आमाबाबुले बालबालिकालाई सफल हुन चाहिने कुरा बिर्सिरहेका छन् ः साथीभाइसँग सक्रिय, कल्पनाशील र सकेसम्म घरबाहिरका गतिविधि । ‘हाइ–टेक स्टेम’ खेलौनाभन्दा यस्तो खेलले सफल वयस्क उत्पादन गर्ने पुष्टि हुँदै आएको छ।

महँगा खेलौना नकिन्दा पनि हुन्छ । खासमा यही नै ठीक होला। 

प्रकाशित मिति: ०५:०३ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्