विधेयकमा संशोधन प्रस्ताव दर्ता नभएसम्म आन्दोलन रोकिदै : पत्रकार महासंघ
काठमाडौं, असार २२ : नेपाल पत्रकार महासंघले संसदमा दर्ता गरेको मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक औपचारिक रुपमा संशोधन नभएसम्म जारी आन्दोलन नरोकिने....
काठमाडौं, असार २२ : नेपाल पत्रकार महासंघले संसदमा दर्ता गरेको मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक औपचारिक रुपमा संशोधन नभएसम्म जारी आन्दोलन नरोकिने जनाएको छ।
दुई दिन अघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दुवै विधेयक संशोधन हुने मौखिक आश्वास महासंघको टोलीलाई दिएका थिए । तर मौखिक आश्वासले ढुक्क हुन सक्ने अवस्था नरहेको भन्दै संशोधन प्रस्ताव संसदमा दर्ता नभएसम्म आन्दोलन जारी रहने महासंघले जनाएको छ ।
‘नेकपामा उपनेताले विधेयक संशोधन हुने मौखिक आश्वासन दिनु भएको छ’ महासंघका महासचिव रमेश विष्टले काठमाडौं प्रेससँग भने, ‘तर संशोधन प्रस्ताव संसदमा दर्ता नभएसम्म हाम्रो आन्दोलन जारी छ।’
महासंघले उक्त दुई विधेयकका विषयमा सरकारसँग छलफल गर्न पाँच सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । काठमाडौंमा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा उपाध्यक्ष विपुल पोखरेल, महासचिव विष्ट, सचिव उदय जिए र केन्द्रीय सदस्य यमप्रसाद शर्मा विरही रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । तर वार्ता समिति गठन गरेपनि सहमति भएर संसदमा संशोधन प्रस्ताव दर्ता नभएसम्म आन्दोलन जारी रहने महासंघले जनाएको छ ।
महासंघले सरकारले प्रेस स्वतन्त्रतामाथिनै अंकूश लगाउने गरी मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गरेको विरोधमा विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।






