Kathmandu Press

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले कसलाई किन भने छौंडा?

काठमाडौं, असार २२ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकारविरुद्ध प्रचारमा लागेकाहरूलाई लक्ष्यित गर्दै ‘छौंडा’ भनेर ट्वीटरब....

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले कसलाई किन भने छौंडा?

काठमाडौं, असार २२ : प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकारविरुद्ध प्रचारमा लागेकाहरूलाई लक्ष्यित गर्दै ‘छौंडा’ भनेर ट्वीटरबाट लाञ्छित गरेपछि अहिले सिङ्गै सामाजिक सञ्जाल उनीमाथि खनिएको छ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले कसलाई किन यस्तो शब्द प्रयोग गरे, यसबारे थरि–थरिका अनुमान र टिप्पणी भइरहेका छन्। भारत सरकारको दबाबमा नाकामा रोकिएका विषादीयुक्त भारतीय तरकारी परीक्षणबिना नेपाल ल्याउन सरकारले खोली दिएको विषयको विरोध गर्नेप्रति लक्ष्यित रहेको नेकपावृत्तमा अनुमान गरिएको छ। यद्यपि, रिमालले विरोधबारे कुनै पनि प्रतिक्रिया जनाएका छैनन्।

रिमालका आलोचकहरूले भने नेपाली समाजमा व्याप्त अन्धविश्वास अनुसार ‘छौंडा’ भनेको ‘बोक्सीको दूत’का रूपमा व्याख्या गर्दै उनले अन्धविश्वासलाई प्रवर्द्धन गरेको आरोप लगाएका छन्।

उनको ट्वीटमा कडा टिप्पणी गर्दै नेकपाकै युवा नेतृ उषाकिरण तिमिल्सिनाले लेखेकी छिन्, ‘कमरेड, तपाईं पार्टीको स्थायी कमिटी सदस्य, प्रमज्यूको सल्लाहकार दुवै पदबाट राजीनामा दिनुस्। यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन।’  

उनले अझै अगाडि लेखेकी छन्, ‘आज निर्दोष, पढ्नलेख्न नपाएका, निम्न वर्गका महिला, राधादेवी चौधरीजस्ता केटीहरू बोक्सीका नाममा कुटपिटमा पर्ने यस्ता चेतनाबाट निर्देशित भएर न हो।’

पत्रकार तीर्थ कोइरालाले टिप्पणी गरेका छन्, ‘लोकविश्वास अनुसार छौंडा बोक्सीले कसैलाई दुःख दिन पठाउँछन्, कार्यकर्ताका रूपमा। सामान्यतया छौंडाहरू आफैँ चल्मलाउँदैनन्। बोक्सीद्वारा परिचालित हुन्छन्। अहिलेको आधुनिक समाजले बोक्सी हुन्छन् भन्ने कुरा मान्दैन तर आज बिहानै विष्णुजीले छौंडा देखाइदिनु...।’

अर्की लेखिका सावित्री गौतमले चाहिँ रिमालले अहिले ट्वीटरमा लेख्नुको उद्गम सार्वजनिक गरेकी छिन्। सावित्री गौतम लेख्छिन्, ‘प्रधानमन्त्रीले के जिम्मेवारी पूरा गर्ने? ‘छौँडा खेलाउने’ त रिमालजीले भन्दै पहिल्यै उहाँले भनिसक्नुभएको थियो उहिले!’ उनले चार वर्षअघिको प्रधानमन्त्री ओलीको भाषणको लिङ्क पनि राखेकी छिन्।

सावित्रीको थप टिप्पणी छ, ‘हो, गुनासो गर्ने ठाउँ र समय सकियो। हामीले उहाँहरूलाई भौतिकवादी कम्युनिष्ट ठान्यौँ, क्रान्तिकारी ठान्यौँ र उहाँहरूको कुरा पत्यायौँ। कसरी पत्यायौँ यत्रो वर्ष भनेर छक्क पर्ने समय चाहिँ आयो।’

तीन वर्षअघि २०७३ साउन १४ गते भारतीय नाकाबन्दीसमेत छिचोल्दै अघि बढेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो शब्द ‘छिमेकी भारतबाट सञ्चालित’ भन्ने अर्थमा प्रयोग गरेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा त्यसबेला प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो। कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन। हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन। मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्छु। छिमेकीले रातदिन छौंडा खेलाएर दुःख दिनु बेठीक कुरा हो।’  

त्यसैले रिमालले आज प्रयोग गरेको ‘छौंडा’ शब्द भारतीय सीमामा रोकिएका विषादीयुक्त फलफुल–तरकारी भारतीय दूतावासको दबाबमा नेपाल सरकारले परीक्षणबिना नै नेपाल प्रवेश गर्न दिएको सरकारी निर्णयकाे विराेध गर्नेविरुद्ध  प्रयाेग गरेकाे अनुमान गर्न सकिन्छ। उनले लेखेका छन्, ‘भनिन्छ, छौंडाहरू आफैँ चल्मलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्! यी छौंडाहरू आफैँ चलमलाएका हुन् कि कसैले छोडेका?’

यसबाहेक हिजो सम्पन्न संसदीय दलको बैठकमा प्रधानमन्त्रीकै अगाडि सरकारको विरोध गर्ने पार्टीका नेता–सांसद्हरू, पार्टीको विपक्षी गुटका नेताहरू, विपक्षी कांग्रेस र उनको शासनको चपेटामा परेका ओली गुटकै नेता–कार्यकर्ता पनि यतिबेला ‘छौंडा’को परिभाषाभित्र परेका छन्।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, असार २२, २०७६