विषादी परीक्षण नगर्ने निर्णयको राष्ट्रिय सभामा विरोध
काठमाडौं, असार २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णय प्रति....
काठमाडौं, असार २२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ।
राष्ट्रियसभाको आजको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।
‘यो कस्तो गाईजात्रा हो सभाअध्यक्ष ज्यू? आफै निर्णय गर्ने अनि आफै फेरि कार्यान्वयन नगर्ने? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लर्याकलुरुक परेर फेरी आफ्नो निर्णयबाट फिर्ता हुने र यो कस्तो राष्ट्रवाद हो? अहिले सरकारको राष्ट्रवाद कुन दुलो भित्र छिरेको छ?,’ उनले प्रश्न गरिन्।
उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।
असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ।











