सरकारको विरोध गर्नेलाई प्रधानमन्त्रीका सल्लाहकारले भने ‘छौंडा’, प्रहरीमा उजुरी परे दुई वर्षसम्म कैद हुनसक्ने
काठमाडौं, असार २२ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले सरकारको विरोध गर्नेलाई ‘छौंडा’ भनेका छन्।
आज ....
काठमाडौं, असार २२ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले सरकारको विरोध गर्नेलाई ‘छौंडा’ भनेका छन्।
आज बिहानै ट्वीट गर्दै रिमालले सरकारको विरोध गर्न कसैले परिचालन गरेको आरोप लगाएका छन्। उनले भनेका छन, ‘भनिन्छ, छौंडाहरूआफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् !, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?’
भनिन्छ, छौंडाहरू
— Bishnu Rimal (@BishnuRimal) July 7, 2019
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दु:ख दिन्छन् !
यी छौंडाहरू
आफैं चलमलाएका हुन् की
कसैले छोडेका?
नेपाली शब्दकोषमा ‘छौंडा’ भनेर 'बोक्सी विद्या सिकेकी महिलाले मानिसलाई पिरपिराउन घरघर पठाउने तालिम प्राप्त बिरोलोलाई जनाउने' उल्लेख छ।
नेपालमा भने बोक्सी भनेर कसैलाई भन्न पाउदैन्। बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ ले बोक्सीको कसैलाई पनि बोक्सीको आरोप लगाउन नपाइने उल्लेख छ।
यसमा कसैले पनि सूचना दिन सक्ने कानुनी व्यवस्था छ। यसको कसुरको सूचनासम्बन्धी व्यवस्थामा भनिएको छ, ‘कुनै ठाँउमा बोक्सीको आरोप सम्बन्धी कसूर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाई यथासक्य छिटो सो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना नजिकको प्रहरी कार्यालयमा’ दिन सकिने व्यवस्था गरेको छ। जसले सूचना दिएपनि प्रहरीले दर्ता गरेर कानुनी कारवाहीको बाटो अघि बढाउनु पर्नेछ।
ऐनमा भनिएको छ, ‘दरखास्त वा सूचना प्राप्त हुन आएमा प्रहरी कार्यालयले चौबीस घण्टाभित्र पीडकलाई झिकाई वा पक्राउ गरी प्रचलित कानून बमोजिम अनुसन्धान तथा तहकिकात गर्नु पर्नेछ।’
यसमा कसैले प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार रिमालविरुद्ध प्रहरीमा उजुरी दिए प्रहरीले उनलाई २४ घण्टाभित्र झिकाउन वा पक्राउ गर्न सक्नेछ।
कसैलाई बोक्सीको आरोप लगाएमा सजायको पनि व्यवस्था गरिएको छ। ऐनमा भनिएको छ, ‘कसूर गर्ने व्यक्तिलाई छ महिना देखि दुई वर्षसम्म कैद र पाँच हजारदेखि बीस हजार रुपैंयाँसम्म जरिवाना’ हुनेछ।






