विप्लवले गरे दलाल पुँजीवादको विरोध
नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अहिलेका सबै समस्या दलाल पुँजीवाद सिर्जित रहेको दाबी गरेका छन्।काठमाडौं, साउन ६ : नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अहिलेका सबै समस्या दलाल पुँजीवाद सिर्जित रहेको दाबी गरेका छन्।
पुँजीवादी लोकतन्त्रबाट नभई समस्याहरूको समाधान वैज्ञानिक समाजवादी लोकतन्त्र रहेको उनको भनाइ थियो। प्रजातन्त्रको उत्कृष्ट अभ्यास वैज्ञानिक समाजवाद रहेको बताउँदै उनले लेनिनलाई सम्झिए। ‘नेपालमा भइरहेको व्यवस्था दलाल पुँजीवाद हो। दलाल पुँजीवाद नै नेपाली जनताको दुर्दशा हो,’ उनले भने, ‘अहिलेको अवस्था राजनीतिमाथिको भद्दा दलालीकरण हो। पार्टी फुटाउँदा, जुटाउँदा, सरकार बनाउन, ढाल्न हरेक काममा विदेशी चाहिने। यो सबै दलालीकरण हो।’
राजनीतिको दलालीकरण पञ्चायतकालमा समेत यति अचाक्ली विकृत रूपमा नदेखिएको उनले बताए। ‘जनताले पेटभर खान पाउनु, समानताका साथ शिक्षा लिन पाउनु नै समाजवाद हो। कांग्रेसले शिक्षा, स्वास्थ्यको दायित्व राज्य लिनुपर्छ भनेको सुनेँ, जुन समाजवादी चरित्र हो,’ उनले भने।
पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन समारोहमा उनले पुँजीवादप्रति पुँजीवादीहरू नै सन्तुष्ट नरहेको बताए। यद्यपि, पुँजीवादका सबै पक्षलाई इन्कार गर्नुपर्छ भन्ने नरहेको उनले बताए। ‘प्राविधिक क्रान्ति, यातायात क्षेत्रमा भएको विकास यसका सकारात्मक पक्ष हुन्,’ उनले भने।
केही देशमा अनावश्यक धन थुप्रिरहेको र केही सीमित व्यक्तिले त्यसमाथि कब्जा जमाएको उनको विश्लेषण थियो।
‘विगतमा नेपालको जमिन जमिनदारको हातमा थियो, आज सबै दलालको हातमा छ। किसानको नाममा खोइ जमिन ?’ उनले प्रश्न गरे। मान्छे एउटा घडेरी किन्नका लागि जुनीभरि हड्डी खियाउँदा पनि सम्भव नहुनु पुँजीवादको उपज रहेको उनले बताए।
धेरैले अहिले जनमत संग्रहमा जान अहिलेका दलले दिँदैनन् भनिरहेको उल्लेख गर्दै उनले तर जनमत कसैले दिएर नभई खोसेर लिनुपर्ने बताए।











