सरकारको विरुद्ध नबोल्न प्रधानमन्त्रीको सांसदहरुलाई निर्देशन
काठमाडौं, असार २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारको विरुद्ध नबोल्न निर्देशन दिएका छन्।
शनिबार संसद भवन नयाँ बानेश....
काठमाडौं, असार २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई सरकारको विरुद्ध नबोल्न निर्देशन दिएका छन्।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकमा बोल्दै ओलीले सरकारको प्रतिरक्षा गर्न निर्देशन गरेका हुन् । पार्टी र सरकारका कुनै गुनासा भए पार्टीभित्र र संसदीय दलमा राख्नुहोस्, ओलीले भने, बाहिर सरकारको विरुद्ध बोल्ने होईन।
प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरूले पार्टी र सरकारका निर्णय सिपाहीले झै रक्षा गर्नुपर्ने तथा कार्यकर्ताहरूले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाव दिएका छन् ।
ओलीले आइफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनप्रति पनि आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले संसदीय समितिले यस्ता आदेश दिनुभन्दा पहिला अलि सोच्नुपर्ने तर्क गरेका थिए।
बैठकमा २२ जना सांसदहरुले पार्टीका आन्तरिक बिषय र सरकारका क्रियाकलापका बारेमा धारणा राखेको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक गुरुङले जानकारी दिए।
त्यस्तै नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले बैठकमा सांसदहरुले खुलेर पार्टी र सरकारको बारेमा धारणा राखेको भन्दै दलको बैठक निरन्तर रुपमा समय समयमा राख्नुपर्ने बताए ।
बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरेका थिए । यसअघि, सोमबार बसेको बैठकमा सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए । सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै नेकपा संसदीय दलको बैठक बसेको हो ।






