‘फिङ्गरप्रिन्टिङ’बाट कसरी बच्ने ?
डिजिटल गोपनियताबारे कहिल्यै ढुक्क हुन सकिँदैन।
हामीलाई अनलाइन ‘ट्र्याक’ नगरियोस् भनेर डाटा सुरक्षित राखेपनि यो ‘एड टेक’ उद्योगले हाम्....
डिजिटल गोपनियताबारे कहिल्यै ढुक्क हुन सकिँदैन।
हामीलाई अनलाइन ‘ट्र्याक’ नगरियोस् भनेर डाटा सुरक्षित राखेपनि यो ‘एड टेक’ उद्योगले हाम्रो डिजिटिल गतिविधि अनुगमन गर्ने कुनै न कुनै उपाय निकालिहाल्छ।‘फिङ्गरप्रिन्टिङ’ को उदय भएको छ। सुरक्षा अनुसन्धाताहरू यसलाई ‘नेक्स्ट–जेनेरेसन ट्र्याकिङ’ प्रविधि भनिरहेका छन्।
फिङ्गरप्रिन्टिङ के हो?
तपाईंको मोबाइल उपकरण वा कम्प्युटरको ‘स्क्रिन रेजोल्युसन’, ‘अपरेटिङ सिस्टम’ र मोडलजस्ता धेरै विशेषताहरू निरीक्षण गरिन्छ।
संकलित सूचनालाई विश्लेषण गरेर तपाईंको पहिचान गर्न सकिन्छ। वेब ‘ब्राउज’ गर्दा वा ‘एप्स’ प्रयोग गर्दा तपाईंको अनुगमन गर्न सकिन्छ। उपकरणको पर्याप्त विशेषता पत्ता लगाएपछि, संकलित डाटाबाट एउटा ‘प्रोफाइल’ बनाउन र औंठाको छापले जस्तै तपाईंको पहिचान गर्न सकिन्छ।
‘पर्याप्त मात्रामा जानकारी पाए एउटा बार कोड सिर्जना हुन्छ,’ पिटर डोल्यान्स्कीले भने। उनी मोजिल्लाको वेब ब्राउजर फायरफक्सका उत्पादन प्रमुख हुन्। अहिले फिङ्गरप्रिन्टिङ अध्ययन गरिरहेका छन्। ‘त्यो बार कोड विशिष्ट र पहिचानयोग्य हुन्छ,’उनले भने।
गुदी कुरा, यो ‘एप्स’ र वेबसाइटको ‘ब्याकग्राउण्ड’मा अदृश्य रूपले चलिरहेको हुन्छ। पहिचान गर्न र समाधान निकाल्न हाम्रा उपकरणमा ‘स्टोर’ गरिएको ‘वेब कुकी’ भनिने ‘ट्र्याकर’भन्दाकठिन छ। ‘फिङ्गरप्रिन्टिङ’ रोक्ने समाधान पनि सीमित छ।
अनुसन्धाताले करिब सात वर्षअघि ‘फिङ्गरप्रिन्टिङ’ पत्ता लगाएका थिए। तर, त्यसबारे विरलै छलफल भयो। आज विश्वका सबैभन्दा लोकप्रिय करिब साढे तीन प्रतिशत वेबसाइटले मात्रै यसलाई ‘ट्र्याकिङ’ गर्न प्रयोग गर्छन्। मोजिल्लाले जनाए अनुसार सन् २०१६ को तुलनामा यो १.६ प्रतिशतको वृद्धि हो। कति मोबाइल एप्सले प्रयोग गर्छन्, अज्ञात छ।
यो आत्तिनुपर्ने कारण त होइन तर चासो राख्नुपर्ने विषय हो। ‘फिङ्गरप्रिन्टिङ’ लोकप्रिय हुँदै गएकाले के गर्ने वा के नगर्ने, त्यस सम्बन्धी जानकारी तल दिइएको छ।
यहाँसम्म कसरी आइपुग्यौं ?
केही वर्षदेखि एप्पल र मोजिल्लाजस्ता प्रविधि कम्पनीले उनीहरूको वेब ब्राउजरमा गोपनियता सुरक्षाका आक्रामक विधि ल्याएका छन्।
विज्ञापनदाताले हामीलाई वेबमा पछ्याउन नसकोस् र लक्षित विज्ञापन मात्रै उपलब्ध होस् भनेर सफारी र फायरफक्स ब्राउजरमा‘ट्र्याकर ब्लकिङ’ राखिएको छ। ‘कुकिज’ र ‘पिक्सल्स’जस्ता परम्परागत ‘ट्र्याकिङ’ विधि सामाजिक सञ्जालका ‘बटन’मा ‘इम्बेड’ गरिन्थे। त्यस्ता अधिकांश प्रविधि ‘बाइ डिफल्ट’ ब्लक हुने भएकाले ‘ट्र्याकिङ’ गर्न विज्ञापनदाताले अर्कै उपाय खोज्नुपर्यो।
‘फिङ्गरप्रिन्टिङ’ले कसरी काम गर्छ ?
वेब ब्राउज गर्दा, ब्राउजरले तपाईंको ‘हार्डवेयर’ सम्बन्धी केही जानकारी वेबसाइटलाई स्वतः दिन्छ। उपकरणको ‘स्क्रिन रेजोल्युसन’ अनुसार ‘विन्डो’को सही आकार ‘लोड’ गर्नुपर्ने भएकाले यस्तो हुन्छ। यो आंशिक कारण हो।
त्यसैगरी मोबाइल एप ‘इन्स्टल’ गर्दा ‘अपरेटिङ सिस्टम’ले हार्डवेयर सम्बन्धी केही जानकारी एपसँग बाँड्छ। ‘प्रोसेसर स्पिड’ र स्क्रिनको आकार अनुकूल हुुनुपर्ने भएकाले एपलाई तपाईंले प्रयोग गर्ने फोनको प्रकारबारे थाहा हुनुपर्छ।
तपाईंको उपकरणबारे एप्स र वेबसाइटले पाउने सूचनामा बन्देज पनि छन्। उदाहरणका लागि आइफोन र एन्ड्रोइड फोनमा तपाईंको स्थान, क्यामेरा र माइक्रोफोन ‘एक्सेस’ गर्न सम्बन्धित एपलाई अनुमति दिनुपर्छ। ती ‘सेन्सर’ प्रयोग गर्नलाई धेरै ब्राउजरले तपाईंको अनुमति लिनुपर्छ।
तर ‘फिङ्गरप्रिन्टिङ’ले हेर्दा हानिकारक नदेखिने सूचना संकलन गर्दछ। साधारणतया एप र वेबसाइट राम्ररी चल्नलाई यो ‘बाइ डिफल्ट’ शेयर गरिन्छ। पर्याप्त जानकारी संकलन भए ‘फिङ्गरप्रिन्टिङ’ धेरै विश्वसनीय हुन्छ। गत वर्ष फा्रन्समा गरिएको अध्ययनमा संकलितमध्ये करिब एक–तिहाइ डिजिटल ‘फिङ्गरप्रिन्ट’ विशिष्ट भएकोले पहिचानयोग्य भएको अनुसन्धाताले पत्ता लगाए।
सन् २०१७ को अध्ययनमा लिहाइ युनिभर्सिटी र वाशिङ्टन युनिभर्सिटीका अनुसन्धाताले एउटा ‘फिङ्गरप्रिन्टिङ’ विधिको परीक्षण गरेका थिए। उक्त विधिले ९९ प्रतिशत प्रयोगकर्ता पहिचान गरेको थियो। गोपनियताको पैरवी गर्नेहरू ‘फिङ्गरप्रिन्टिङ’लाई दुरूपयोग मान्दछन् किनभने ‘कुकिज’भन्दा विपरीत त्यस्तो भइरहेको थाहा पाउन र त्यसबाट बाहिर निस्कन पनि सकिँदैन। ‘कुकिज’लाई मानिसले हेर्न र ‘डिलिट’ गर्न सक्छन्।
‘यो ब्ल्याक बक्सजस्तै हो,’ केसी ओप्पनहाइमले बताए। उनी ‘ट्र्याकर ब्लकिङ टुल्स’ उत्पादन गर्ने डिस्कनेक्ट नामक कम्पनीका कार्यकारी प्रमुख हुन्।
म के गर्न सक्छु ?
‘फिङ्गरप्रिन्टिङ’ रोकथामका समाधान तुलनात्मक रूपले नयाँ हुन्। केही त अझै विकास भइरहेका छन्। अदृश्य हुने भएकाले ‘फिङ्गरप्रिन्टिङ’ कति प्रभावकारी छ भन्न कठिन छ। गोपनियताबारे चिन्तित हुनुहुन्छ भने समाधानबारे थाहा पाएपछि शान्तिले सुत्न सक्नुहुनेछ।
ब्राउजर ‘फिङ्गरप्रिन्टिङ’ रोक्ने केही उपाय
–एप्पल प्रयोगकर्तासँग कम्प्युटर र मोबाइलका लागि सफारीमा सुरक्षा छ। आइफोन र म्याक प्रयोगकर्ताका लागि एप्पलले गत वर्षदेखि सफारी ब्राउजरमा एउटा ‘फिङ्गरप्रिन्टिङ’ प्रतिरोधी संयन्त्र सुरू गरेको छ। वेबसाइट राम्ररी ‘लोड’ हुन आवश्यक न्यूनतम सूचना बाँडफाँड गरे वेबसाइटका लागि म्याक र आइफोन उस्तै देखिन्छ। उदाहरणका लागि म्याकओएस १०.१४.५ प्रयोग गरेको भए तपाईंले म्याकओएस १०.१४ प्रयोग गरिरहेको वेबसाइटले ब्राउजरलाई मात्रै बताउँछ। यो प्रतिरोधी क्षमताको फाइदा लिन तपाईंको उपकरणमा आइफोन र म्याक अपरेटिङ प्रणालीको पछिल्लो संस्करण चलिरहेको सुनिश्चित गर्नुहोस्।
–एन्ड्रोइड र विन्डोज प्रयोकर्ताले फायरफक्स वेब ब्राउजर चलाएर हेर्नसक्छन्। तर यो ‘फिचर’ले केही वेबसाइट ‘लोड’ हुनबाट रोक्नसक्छ वा शपिङ साइटमा भुक्तान गर्न दिँदैन। त्यसैले यो ‘फिचर’ स्वतः सुरू नहुने कम्पनीले बताएको छ। प्रगति भइरहेको र भावी ‘रिलिज’मा ‘फिङ्गरप्रिन्टिङ’ स्वतः बन्द हुने अपेक्षा गरेको मोजिल्लाले बताएको छ। हाललाई ‘ब्राउजर प्रिफरेन्स’ खोलेर, ‘प्राइभेसी एन्ड सेक्युरिटी पेज’ क्लिक गरेर ‘कस्टम’ भित्र ‘फिङ्गरप्रिन्टिङ’ छनोट गर्नुहोस्। गुगलले पनि यही वर्षदेखि क्रोम ब्राउजरका लागि ‘फिङ्गरप्रिन्टिङ’ प्रतिरोध सुरू गर्ने जनाएको छ। तर ‘फिचर’ कहिले ‘रिलिज’ हुने खुलाएको छैन।
–अन्य डेक्स्टप ब्राउजरले ‘एड–अन’ इन्स्टल गर्नसक्छन्
डिस्कनेक्टले ‘फिङ्गरप्रिन्ट’ विरूद्ध सुरक्षासहित एउटा ‘ट्र्याक ब्लकर’ उपलब्ध गराउँछ। यो डाउनलोड गर्न मिल्ने ‘एड–अन’ हो। यसलाई गुगलको क्रोम ब्राउजरमा पनि प्रयोग गर्न मिल्छ। यसका बेफाइदा पनि छन्। बेलाबेला शपिङ साइट ‘ब्रेक’ हुनसक्छ। त्यसैले ‘शपिङ कार्ट’मा सामग्री राख्नलाई डिस्कनेक्ट ‘डिसेबल’ गर्नुपर्छ।
मोबाइल ‘फिङ्गरप्रिन्टिङ’ भिन्न हो
‘फिङ्गरप्रिन्टिङ’ सिधै एपभित्र गर्न सकिन्छ। कुनै एपले पृष्ठभूमिमा कुन सूचना संकलन गरिरहेको वा कहिले चालु हुन्छ देखिँदैन।
एउटा उदाहरण सन् २०१७ मा देखियो। उबरले आफ्नो आइफोन एपभित्र ‘फिङ्गरप्रिन्टिङ’को एउटा स्वरूप प्रयोग गरेको न्यूयोर्क टाइम्सले खुलाएको थियो। प्रयोगकर्ताले उपकरणबाट सम्बन्धित विषयवस्तु हटाए पनि उनीहरूलाई पहिचान गर्न सजिलो होस् भनेर त्यस्तो गरिएको थियो।
उसोभए मोबाइलका लागि सबैभन्दा व्यवहारिक के होला त? विरलै प्रयोग हुने एप डिलिट गरेर सुरू गर्नुहोस्। ‘फ्रि एप’मा ट्र्याकर धेरै हुनसक्छ। तर शुल्क तिरेर पनि ट्र्याक भइरहेको हुनसक्छ। वेब र मोबाइल एप दुवैमा यो ‘ट्र्याकिङ’ विधि लागू हुने भएकाले ‘फिङ्गरप्रिन्टिङ’ एउटा जटिल शीर्षक हो। तर चिन्ता नलिनुहोस्। अहिले नै आफूलाई सुरक्षित राख्न नसकिए पनि, यसबारे थाहा पाउँदा पनि सुरक्षातर्फ अघि बढ्नुभएको छ।
-ब्रायन एक्स. चेन प्रमुख उपभोक्ता प्रविधि लेखक हुन्। उनी उत्पादनको समीक्षा गर्छन् र प्रविधि सम्बन्धी समस्या समाधान गर्न टेक फिक्स नामक स्तम्भ लेख्छन्।