फास्ट ट्र्याक समयमै सम्पन्न हुन्छ : सेना
मंगलबार साँझ फास्ट ट्र्याकको प्रगति विवरण सार्वजनिक गर्दै सेनाले कोभिड-१९ महामारीका कारण भएको ढिलाइका बावजुद समयमै काम सकिने दाबी गरेको हो।
काठमाडौं, साउन ५ : काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै सम्पन्न हुने सेनाले बताएको छ।
मंगलबार साँझ फास्ट ट्र्याकको प्रगति विवरण सार्वजनिक गर्दै सेनाले कोभिड-१९ महामारीका कारण भएको ढिलाइका बावजुद समयमै काम सकिने दाबी गरेको हो।
गत आर्थिक वर्ष ०७७-७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३४ प्रतिशत रहेको सेनाको भनाइ छ। ‘गत आवमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत र वित्तीयतर्फ १४.५१ प्रतिशत लक्ष्य हासिल भएको छ,’ सेनाले भनेको छ।
यस्तै, सुरुङ मार्ग निर्माणका लागि एपीसी (इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन मोडेलमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपछि आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनोट कार्य सम्पन्न भएको र ३१ जेठ ०७८ देखि दुवै सुरुङ ठेक्का प्याकेजहरूको कमेन्समेन्ट भई मोबिलाइजेसनसहित कार्य प्रारम्भ गरिएको सेनाले जनाएको छ।
सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्वेलगायत काम सञ्चालनमा आएको तथा हाल उक्त परामर्शदाताबाट टिम लिडर, प्रोजेक्ट कोअर्डिनेटर, टनेल इन्जिनियर, ब्रिज इन्जिनियर, म्याटेरियल इन्जिनियर, सडक तथा सुरक्षा विज्ञ, वरिष्ठ भूगर्भशास्त्री र जियोटेक्निकल इन्जिनियरहरूले काम सुरु गरेको सेनाको भनाइ छ।
सेनाका अनुसार आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा छन्। पुल र सुरुङ निर्माणका लागि आवश्यक पहुँच मार्ग निर्माण अगाडि बढाइएको सेनाले उल्लेख गरेको छ।
आयोजनाका पाँच स्थानमा बेसिक ल्याब इक्विपमेन्ट जडान गरी गुणस्तर परीक्षण गरिएको र अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्शअनुसार एडभान्स ल्याब इक्विपमेन्टहरू समेत थप गर्ने व्यवस्था मिलाइएको सेनाको भनाइ छ।

हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धी कार्य सम्पन्न गरिएको तथा खोकना-बुङमति इलाकाको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उपसमिति गठन भएको सेनाले उल्लेख गरेको छ।
रुख कटान र व्यवस्थापन शतप्रतिशत सकिएको, रुख कटान भएअनुसार तोकिएको अनुपातमा वृक्षरोपण गर्नुपर्ने कानूनी व्यवस्था अनुसरण गर्दै गत आव ०७७-७८ को असार मसान्तसम्म दुई लाख ४९ हजार एक सय ६६ वटा बिरुवा रोपिएको छ।
‘आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्यांकन (ईआईए) तथा सुरुङ मार्ग र पुल निर्माणसम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) स्वीकृति भई कार्य प्रारम्भ गरिएको छ,’ सेनाले भनेको छ।











