Kathmandu Press

काँग्रेस नेतृत्वलाई युवा नेताहरुको आग्रह, “पार्टीभित्र अन्याय हुन नदिऔं”

काठमाडौं, साउन ५ : अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टी भित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य...
काँग्रेस नेतृत्वलाई युवा नेताहरुको आग्रह, “पार्टीभित्र अन्याय हुन नदिऔं”

काठमाडौं, साउन ५ : अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई बिश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टी भित्रै नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्न काँग्रेसका युवा नेताहरुले माग गरेका छन् ।

क्रियाशिल सदस्यताको विषयलाई लिएर विवाद र दवावमुलक कार्यक्रमहरु भइरहेकोप्रति लक्षित गर्दै युवा नेताहरुले पार्टी भित्र न्यायका लागि धर्ना दिनु पर्ने र अनसन बस्नु पर्ने अवस्थाको अन्त्य गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । काँग्रेसका १० युवा नेताहरुले आज संयुक्त वक्तव्य जारी गदै चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले आफुहरुको ध्यान तानेको उल्लेख गरेका हुन् ।

युवा नेताहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन  थापा, बद्री पाण्डे, गुरुराज घिमिरे,  सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले जारी गरेको वक्तव्यमा सदस्यता सम्वन्धी विवाद तत्काल समाधान गरेर महाधिवेशनको सुनिश्चितता गर्न आग्रह गरेका हुन् ।

“मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ । हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन । पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन,” वक्तव्यमा लेखिएको छ ।

काँग्रेसका विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु कृयाशिल सदस्यता सम्बन्धि बिवादका कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र आमरण अनसनमा बसेका छन् । यसलाई युवा नेताहरुले गम्भीर बिषयको रुपमा लिएका छन् । “विधि र प्रक्रिया नाघेर जथाभावी बितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो बनाउँदैन । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ । 

आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ,” नेताहरुको आग्रह छ । वक्तव्यमा बितेका साढे तीन बर्ष यता ओली सरकारको निरंकुश व्यवहारले नेपाली जनतामा बढाएको निराशा अन्त्य गर्दै कष्टकर हुदै गएको दैनिकीमा सुधार गरि सरकारप्रति जनतालाई आस्वस्त तुल्याउनु नयाँ सरकारको दायित्व भएको समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्