सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन–पार्टी र सरकारका निर्णय सिपाहीले झै रक्षा गर्नुस्
काठमाडौं, असार २१ : नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्न सांसदहरुलाई निर्देशन दिएका....
काठमाडौं, असार २१ : नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।
नेकपाको संसदीय दलको बैठकलाई शनिबार बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न पनि आग्रह गरे।
‘नेता तथा कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ। असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ,’प्रधानमन्त्री ओलीले भने,‘पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुंगामाा सवार छौं। यो कुरा सबैले मनन् गर्नुपर्छ।’
प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको विषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने बताए। ‘कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन्,’उनले भने,‘हामीले गर्न खोजेको त्यही हो। यसबाट हामीलाई लाभ हुन्छ। देशका निम्ति हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो।’
बैठकमा प्रधानमन्त्री ओलीले संसदहरुले राखेका सुझाव, आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको बताएका थिए। शनिबारको बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राखेका थिए। दलको अर्को बैठकको मिति चाँडै तय हुने दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।






