सरकारले जनताका अपेक्षा पूरा गरेरै छोड्छ: मन्त्री ज्ञवाली
बुटवल, असार २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको....

बुटवल, असार २१ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन्। उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए।
नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले भने,“संविधानअनुसार जनताका मौलिकहक स्थापित गर्ने गरी एक वर्षमा कानून निर्माण गर्यौ र मुलुकमा सबै तहका सरकार सक्रिय ढङ्गले चलेका छन् सङ्घीयताले खुट्टा टेकेर अघि बढने भएको छ।”
मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबै खाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे। उनले भने,“लोकतान्त्रिक आन्दोलनको मुख्य कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउँछौँ।”
सरकार अवसर र जिम्मेवारी रहेको र जनताका अपेक्षा अपार रहेको बताउँदै उनले वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे। वर्तमान सरकारले देशको विकास र समृद्धिको बहशलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने बताए। उनले भने,“वर्तमान नेतृत्वलाई असफल हुने कुनै छुट छैन, यो सिङ्गो नेकपाका कार्यकर्ता र आम मतदातासँग जोडिएको छ।”
मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिला सुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको बताए। उनले सरकार सही बाटोबाट अघि बढी रहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले एतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत प्रतिबद्धता व्यक्त गरे।











