Kathmandu Press

प्रधानमन्त्रीले भने- मनमोहन अधिकारीलाई कांग्रेससँग मिलेर काम गर्नै दिइएन

प्रधानमन्त्री शेरबहादुर देउवाले ०५१ सालमा अल्पमतको सरकारको नेतृत्व गरेका स्वर्गीय मनमोहन अधिकारीलाई काम गर्नै नदिइएको स्मरण गरेका छन् ।
प्रधानमन्त्रीले भने- मनमोहन अधिकारीलाई कांग्रेससँग मिलेर काम गर्नै दिइएन

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले ०५१ सालमा अल्पमतको सरकारको नेतृत्व गरेका स्वर्गीय मनमोहन अधिकारीलाई काम गर्नै नदिइएको स्मरण गरेका छन् ।

स्वर्गीय अधिकारी कांग्रेससँग मिलेर काम गर्न चाहेको तर एमालेभित्रबाट काम गर्न नदिइएको उनले बताए ।

प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले कांग्रेसले कहिल्यै प्रतिपक्षलाई गाली नगर्ने भन्दै विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षलाई निरन्तर गाली गरेकामा व्यंग्य कसे।

विश्वासको मतको छलफलका सन्दर्भमा प्रतिपक्षबाट आएका सल्लाहलाई कांग्रेसले रचनात्मक रूपमा लिने उनले स्पष्ट पारे।

सबै जातजाति र क्षेत्रलाई समेटेर लैजान नै समावेशी संविधान निर्माण गरिएको उनले बताए ।

राजनीतिक व्यक्तिलाई जेलमा राखेर समस्याको समाधान नहुने उनले बताए । तर, अदालतमाथि हस्तक्षेप नगरिने प्रष्ट्याए। सांसद रेशमलाल चौधरीलाई आफूले पहिल्यैदेखि राम्रोसँग चिनेको उनले स्पष्ट गरे ।

सरकारका तीनवटा प्राथमिकता रहेको उनले सम्झाए– खोप, खोप र खोप । विकासभन्दा जिन्दगी बचाउनु महत्त्वपूर्ण रहेको उनले बताए ।

छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्नुबाहेक अरू कुनै राष्ट्रिय हित नभएको उनले बताए । सरकारले सधैँ राष्ट्रिय हितलाई ख्याल राखेर काम गर्ने बताए । आफूहरू कहिल्यै भारत र चीनको विपक्षमा नरहेको उनले बताए ।

संविधानको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालतले सोही अधिकार प्रयोग गर्दै संविधानको धारा ७६ (५)को सुस्पष्ट व्याख्या गरेर लोकतन्त्र बचाएको उनले बताए ।

सबैलाई मिलेर जान प्रधानमन्त्री देउवाले आग्रह गरे । र, राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरे । ‘राष्ट्रिय सरकार बनाउन सबैजना आएमा म तयार छु,’ उनले भने, ‘सबै मिलेर देश बनाऔँ ।’

प्रकाशित मिति: २१:२३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्