पर्सामा तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
वीरगञ्ज, असार २१ : पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा भीषण आगलागी भएको छ। उद्योगको प्याकेजिङ तथा गोदाममा....

वीरगञ्ज, असार २१ : पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा भीषण आगलागी भएको छ। उद्योगको प्याकेजिङ तथा गोदाममा शनिबार बिहानैदेखि आगलागी भएको हो।
बिहान साढे २ बजेदेखि शुरु भएको आगलागीलाई बारा र पर्साका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले आगोलाई नियन्त्रणमा लिन वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताए।
तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको भट्टराईले बताए। उनले वीरगञ्जमा फोम नभेटिएका कारण भारतको मोतिहारी तथा काठमाडौंबाट मगाउने प्रयास भइरहेको बताए।
आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान रहेको छ। रासस











