Kathmandu Press

एपोलो अस्पतालबाटै खनालको अपिल : प्रधानमन्त्री देउवालाई सबैले विश्वासको मत दिऔं

काठमाडौं, साउन ३ : एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन्।स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि...
एपोलो अस्पतालबाटै खनालको अपिल : प्रधानमन्त्री देउवालाई सबैले विश्वासको मत दिऔं
फाइल तस्बिर ।

काठमाडौं, साउन ३ : एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन्।

स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि एक महिनअघि उपचारको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका खनालले त्यहीँबाट आज (आइतबार) एक वक्तव्य जारी गरेर आफ्नो मत पनि देउवालाई नै रहेको स्पष्ट पार्दै एमालेका सबै सांसदलाई प्रधानमन्त्री देउवालाई मत दिन आग्रह गरेका हुन्।

‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभईकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ उनले लेखेको छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु।’

नेता खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै यो सरकार दुई वर्षसम्म निर्बाध रूपमा चल्नुपर्नेमा जोड दिएका छन्। 

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। तर उनले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन्।

सोही वक्तव्यमार्फत नेता खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नुलाई ऐतिहासिक फैसला भएको पनि उनले बताएका छन्। परिवर्तित परिस्थितिमा एमालेलाई एकताबद्ध बनाएर लान जोकोही त्याग गर्न तयार हुनपर्ने पनि उनको भनाइ छ।  

हेर्नुहोस् वक्तव्य

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्