Kathmandu Press

कृष्ण पहाडीको चेतावनी–प्रेसमाथि अंकुश लगाए सरकार आफै खतरामा पर्छ

काठमाडौं, असार २० : नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे त्यसको प्रतिकारमा हुने आन्दोलनले सरकार आफै खतरामा प....

कृष्ण पहाडीको चेतावनी–प्रेसमाथि अंकुश लगाए सरकार आफै खतरामा पर्छ

काठमाडौं, असार २० : नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे त्यसको प्रतिकारमा हुने आन्दोलनले सरकार आफै खतरामा पर्ने चेतावनी दिएका छन्।

नेपाल पत्रकार महासंघले शुक्रबार सञ्चारग्राममा गरेको अन्तक्र्रियामा नागरिक अगुवा पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने हरकत कायमै रहिरहे त्यसपछि उत्पन्न परिस्थितिको सरकार स्वयं जिम्मेवार हुनुपर्ने बताए। उनले प्रेस स्वतन्त्रता रक्षाका लागि महासंघको नेतृत्वमा हुने आन्दोलनले सरकार मात्रै नभई सरकारको नेतृत्व गरेको पार्टीलाई नै सिध्याउने दाबी गरे। 

उनले दुई तिहाईको बलमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक पास गर्ने प्रयास भएमा जेल भराउ अभियान सञ्चालन गर्न महासंघलाई सुझाव दिए। महासंघको आन्दोलन चर्किदै जाँदा त्यसले सरकार विरोधी आन्दोलनको स्वरुप लिने उल्लेख गर्दै उनले राजनीतिलाई अपराधिकरण गर्ने र प्रेसको ढुकढुकी मास्ने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए।

पहाडीले माफियाले गाँजेको सरकारले माफिया विरोधी समाचारमा नियन्त्रण गर्ने उद्देश्य साथ प्रेस स्वतन्त्रता विरोधी अभियान अन्तर्गत नै विधेयकहरु ल्याएको दाबी गरे।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले संविधानको दायरा नाघेर दुई तिहाईको बलमा विधेयक पास गर्ने काम गरियो भने पनि न्यायिक चुनौतीको बाटो खुला नै रहने भएकाले सोही माध्यमबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित गर्न सकिने बताए।

कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले सरकारका गलत कामप्रति कसैले प्रश्न गर्न नसकून भन्ने गलत मनसाय साथ सरकारले प्रेस सम्बन्धी विधेयकहरु ल्याएको बताए।

मिडिया, प्रेस, सामाजिक सञ्जाल र पत्रकारितालाई एउटै बास्केटमा राखेर सामाजिक सञ्जाल र मिडियाबारेमा सरकारले भ्रम छर्ने कम गरेको उनको आरोप छ। ‘सामाजिक सञ्जालमा भइरहेका विकृति ल्याएर पत्रकारिताको थाप्लोमा बजार्दा पत्रकारिता घाइते अवश्य हुन्छ,’ उनले भने,‘त्यसैले विधेयकको विरुद्धमा हामी उत्रिनु परेको छ।’

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकमा उल्लेखित प्रेस विरोधी प्रावधान हटाउने प्रतिवद्धता सत्तारुढ दलबाट आउनुपर्ने बताए। 

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक ल्याएको भन्दै आन्दोलनमा उत्रिएको महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार सरोकारवालाहरुसँग  छलफल गरेको थियो।

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्