Kathmandu Press

प्रतिनिधिसभाका आज बस्ने दुईवटा बैठकमा के-के हुन्छ?

पहिलो बैठक सकिएको १५ मिनेटपछि दोस्रो बैठक प्रारम्भ हुनेछ। दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम छ।
प्रतिनिधिसभाका आज बस्ने दुईवटा बैठकमा के-के हुन्छ?

काठमाडौं, साउन ३ : सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारकाे सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) अपराह्न ४ बजेका लागि संसदका दुवै सदनको नवौं अधिवेशन आह्वान गरेकी छन्।

तदनुसार आज बोलाइएको प्रतिनिधिसभा अधिवेशनमा दुईवटा बैठक हुनेछन्। पहिलो बैठक औपचारिकताका लागि मात्रै गरिनेछ। तथापि सो बैठकमा बैठकमा राष्ट्रपति भण्डारी र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु वाचन गरेर सुनाइनेछन्।

त्यसैगरी संविधानसभाका पूर्वसदस्यहरू तथा सांसदहरुको निधनका शोक प्रस्तावहरू पनि पहिलो बैठकमा पारित गरिनेछन्। 

त्यसपछि विभिन्न अध्यादेशहरू पनि पहिलो बैठकमै पेस गरिने जनाइएको छ। त्यसपछि पहिलो बैठक समापन हुनेछ। 

पहिलो बैठक सकिएको १५ मिनेटपछि दोस्रो बैठक प्रारम्भ हुनेछ। दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भनी पत्र पठाएकाले सोही प्रयोजनका लागि दोस्रो बैठक राखिएको संसद सचिवालयले जनाएको छ।

विश्वासको मतका लागि प्रधानमन्त्री देउवाको पत्र दर्ता भइसकेको छ। सर्वोच्च अदालतले असार २८ गतेको परमादेश दिएकै भोलिपल्टै असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। 

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। तर देउवाले आजै विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्