Kathmandu Press

प्रधानमन्त्री ओलीले भने–आइफा अवार्ड अनुकूल समयमा गरेरै छोड्छौं 

काठमाडौं, असार २० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आइफा अवार्ड’ रोक्न संसदीय समितिले द....

प्रधानमन्त्री ओलीले भने–आइफा अवार्ड अनुकूल समयमा गरेरै छोड्छौं 

काठमाडौं, असार २० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आइफा अवार्ड’ रोक्न संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दाबी गरेका छन्।

हल्लाको भरमा दिइएको समितिको निर्देशन सरकारलाई मान्य नहुने स्पष्ट पार्दैै प्रधानमन्त्री ओलीले आइफा अवार्डको आयोजना अनुकूल समयमा गरेरै छाड्ने बताए। ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘देशका लागि राम्रो र फाइदाजनक हुने भयो भने अनुकूल समय मिलाएर आइफा अवार्ड आयोजना गर्न सरकार तयार छ,’प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रलाई हानी हुने गरेर सो अवार्ड आयोजना हुँदैन।’ उनले छलफलको क्रममै रहेकोे सो अवार्ड आयोजना गर्ने विषयलाई ‘सर्वनाश हुने भो’ भनि फर्मान जारी गर्ने काम संसदीय समितिले गरेको बताए।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड राष्ट्रको हितमा नरहेको भन्दै रोक्न सरकारलाई निर्देशन दिएको थियो। संसदीय समितिको उक्त निर्देशन उचित नभएको प्रधानमन्त्री ओलीको दाबी छ।

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुको विरोधबाट विचलित नभई मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहने प्रतिवद्धता पनि व्यक्त गरे। समाजवादी पार्टी, नेपालका असन्तुष्ट नेताहरु कल्पना धमला, देवेन्द्र पराजुलीलगायतका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका थिए। 

प्रधानमन्त्री ओलीले आफूले केही दिनअघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँड्न सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर हिँड्न थालेको पनि बताए।

‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि मास्क लगाएर हिँड्न थालेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘मास्क लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भएपनि मास्क लगाउने बानी राम्रै हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिँदैन।’

प्रधानमन्त्री ओलीले कांग्रेसप्रति संकेत गर्दै चुनाव हारेको दलले सरकारको विरोध गर्न लोकतन्त्रमा पाउने पनि बताए।  विकास विरोधी तत्वहरु सक्रिय रहेको उल्लेख गर्दै उनले उनीहरुलाई निस्तेज पारेर अघि बढ्न सरकार सक्षम रहेको पनि बताए।
 

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, असार २०, २०७६