राज्य व्यवस्था समितिले लोकसेवासँग माफी माग्नुपर्छ : सांसद् विजय सुब्बा
काठमाडौं, असार २० : प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा सत्तारुढ नेकपाका सांसद् विजय सुब्बाले समितिले लोकसेवा आयोगसँग माफी माग्न प्र....
काठमाडौं, असार २० : प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा सत्तारुढ नेकपाका सांसद् विजय सुब्बाले समितिले लोकसेवा आयोगसँग माफी माग्न प्रस्ताव गरेका छन्।
समितिको शुक्रबार बसेको बैठकमा ‘स्थानीय तहको कर्मचारी भर्नासम्बन्धि लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएछ’ भनेर स्वीकार गर्न सभापति शशी श्रेष्ठसँग माग गरे। सुब्बाले बैठकमा लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ? भन्ने थाहा नभई लोक सेवा आयोगलाई निर्देशन दिएको पाइएको पनि बताए।
‘लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा के–के रहेछ भन्ने थाहा रहेनछ, लोक सेवा आयोगको ऐन कहाँ छ ? त्यहाँ समावेशी सिटहरु कति छन ? थाहा भएपछि बोल्नुपर्ने,’ सांसद सुब्बाको प्रस्ताव थियो, ‘अहिलेसम्म थाहा रहेनछ, अब लोक सेवा आयोगसँग सो सम्बन्धमा पुनः जानकारी मागौँ, थाहा पाऊँ, अनि गल्ती गरिएछ भनेर समीक्षा गरौं।’
समितिले दिएको सो निर्देशनविपरीत सर्वोच्च अदालतले सो विज्ञापन नरोक्न लोक सेवा आयोगलाई आदेश दिएपछि त्यो निर्देशन गलत थियो भनी स्वीकार गर्नुपर्ने सुब्बाको माग थियो। सांसद सुब्बाले समितिको सो निर्देशनप्रति असहमति जनाउनु भएको थियो।
समितिको बैठकमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले लोक सेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताए। हालसम्म आयोगले कति कर्मचारीलाई बढुवा गर्यो? भन्ने जानकारी नभएका कारण पनि लोक सेवा आयोगबारे जनतामा गलत सूचना गएको र त्यसलाई सच्याउन जरुरी रहेको उनके भनाइ थियो।
बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएकी थिइन्।






