बिपी प्रतिष्ठानको समस्या समाधानका लागि आठ सदस्यीय कार्यदल
काठमाडौं, साउन १ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ...
काठमाडौं, साउन १ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुगमन र बिपी प्रतिष्ठानका प्रतिनिधि सम्मिलित रहेको बताइएको छ।
प्रतिष्ठान सुधार गर्नुपर्ने, प्रतिष्ठानका चारै पदाधिकारी हटाउनुपर्नेलगायत माग राखेर त्यहाँका स्वास्थ्यकर्मी संघर्ष समिति बनाएर एक महिनादेखि आन्दोलनरत छन्। त्यही संघर्ष समितिसँग वार्ता र छलफल गरी समस्या समाधान गर्न उक्त कार्यदल बनाइएको हो ।
आज (शुक्रबार) बाटै काम गर्ने गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउन समय दिइएको कार्यदलका एक सदस्यले जानकारी दिए। प्रतिष्ठानभित्रको समस्या पहिचानगरी अल्पकालीन र दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रतिवेदन तयार पार्ने कार्यदलको योजना रहेको जनाइएको छ।
बिपी प्रतिष्ठान शुद्धीकरण संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर ४८ घण्टाभित्र माग पूरा गर्न आग्रह गरेको थियो। माग पूरा नभए दैनिक दुई घन्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनी समितिले दिएको छ।
संघर्ष समितिले पत्र पठाएको दुई दिनपछि कार्यदल गठन गरिएको हो।


-1789640101-1789640288.jpg)








