Kathmandu Press

आज एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन १ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्।एमाले विवाद चर्किरहेका बेला अध्यक्ष ओलीले...
आज एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
फाइल फोटो

काठमाडौं, साउन १ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्।

एमाले विवाद चर्किरहेका बेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका पक्षका नेतालाई पनि दुवै बैठकमा बोलाएका छन्। एमाले स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई पनि बोलाइएको उनले जानकारी दिए। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।

त्यस्तै, आजै दिउसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। संसदीय दलको बैठकमा पनि नेपाल पक्षका सांसदलाई बोलाइएको छ।

सर्वोच्च अदालतको आदेशपछि पहिलो पटक एमाले संसदीय दलको बैठक बस्न लागेको हो। एमालेका २३ सहित १४६ जना सांसदले सर्वोच्चमा रिट दिएपछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो।

योसँगै सर्वोच्चले आदेश दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका छन्। देउवा प्रधानमन्त्री बनेसँगै ओली नेपाल पक्षमाथि झन आक्रमक बनेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि उनले यसको दोष नेपाललाई लगाएका थिए। ओलीले नेपाललाई लाल गद्दार भनेका थिए।

यस्तो बेला बस्न लागेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको छ। नेपाल पक्ष जाने वा नजाने एकीन भएको छैन।

प्रकाशित मिति: ०६:२४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्