Kathmandu Press

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं, असार ३१ : सर्वोच्च अदालतले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (विप्लव समूह) का नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको...
विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं, असार ३१ : सर्वोच्च अदालतले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (विप्लव समूह) का नेता हेमन्तप्रकाश वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।

आज (बिहीबार) न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले त्यस्तो आदेश दिएको हो। वलीलाई २०७६ जेठ १० मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। 

नक्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उक्त आदेश बेरितको रहेको भनी वलीले २०७६ जेठ १६ गते उच्च अदालत पाटनमा निवेदन दिए पनि सो अदालतले पहिलेकै आदेशलाई सदर गरेको थियो। त्यसपछि वली सर्वोच्च गएका थिए। 

वलीले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको आफ्नो पार्टीको संलगनता रहेको बताएका थिए। वली हाल मुटुको उपचारका लागि सहिद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रमा छन्।

सर्वोच्चले जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले बेमनासिब देखिएको ठहर गरेको छ।

प्रकाशित मिति: १८:१५ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्