लुम्बिनीमा बजेट पास हुन नदिने विपक्षी गठबन्धनको तयारी

रूपन्देही, असार ३१ : लुम्बिनी प्रदेशसभा बैठक जारी छ। मन्त्रीहरूले जवाफ दिने क्रम सकिएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट निर्णयार्थ आजै (बिहीबार नै) पेस बैठकमा हुँदैछ।
तर विपक्षी गठबन्धनले उक्त बजेटको विपक्षमा मतदान गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको उक्त गठबन्धनको दाबी छ।
विपक्षी गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित छन्।
लुम्बिनी प्रदेशसभा ८३ सदस्यीय रहेको छ। जसमा एमालेका ३८ सांसद छन्। एमालेलाई जसपा महन्थ ठाकुर पक्षका तीन सांसदको समर्थन रहेको छ। यस हिसाबले सत्तापक्ष एमालेतर्फ ४१ सांसद छन्। जुन अल्पमत भएको गठबन्धनको भनाइ छ।
विपक्षी गठबन्धनमा ४२ सांसद छन्। जसमा एकजना सभामुख हुन्। एमालेले आफ्नो समर्थक ठान्ने स्वतन्त्र सांसद अजय शाही स्वास्थ्यमा समस्या देखिएपछि बैठकमा अनुपस्थित छन्। त्यसकारण पनि सरकारको बजेट पास नहुने स्थिति सिर्जना भएको हो।
सांसद शाही मन्त्री नबनाइएपछि अहिलेको सरकारसँग असन्तुष्ट रहँदै आएको बताइन्छ। सत्ता पक्षले सहमतिमै बजेट पारित गर्ने प्रयास गरे पनि अन्ततः विफल हुने देखिएको हो।


-1789640101-1789640288.jpg)








